उदयपुरमा दश लाख रुपैयाँको आँप बिक्री

Posted on: 14 Jul, 2018
असार ३०, उदयपुर | उदयपुर चौदण्डीगढी नगरपालिका–३ हँडिया उत्तराई टोलका आँप उत्पादक कृषकले अहलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरेका छन् । 
स्थानीय रमाकान्त चौधरीकाअनुसार उत्तराई टोलका १५ घर व्यावसायिक कृषकले अहिलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरिसकेको र अझै पनि केही आँप बिक्री गर्न बाँकी रहेका छन् । 
यस क्षेत्रमा उत्पादन हुने आँप सप्तरीको फत्तेपुर, चौदण्डीको बेल्टार, जिल्लाको सदरमुकाम गाईघाट रसुनसरीको धरान बजारमा बिक्री हुने गरेको आँप उत्पादक कृषक बताउँछन् । 
जिल्ला कृषि विकास कार्यालय उदयपुरका अनुसार चौदण्डीको हँडिया, सुन्दरपुर, त्रियुगा नगरपालिकाको जोगिदह, बगाहा, बेलका नगरपालिकाको तपेश्वरी क्षेत्रमा व्यावसायिकरुपमा आँप उत्पादन हुने गरेका छन् । 
अन्यमा कटारी नगरपालिकाको त्रिवेणी र रिस्कु क्षेत्रसहितका क्षेत्र अहिले जिल्लाकै आँप उत्पादन पकेट क्षेत्र रहेको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रामसेवक ठाकुर बताउनुहुन्छ । 
यस क्षेत्रमा बम्बई, कलकतिया, मालदह, कृष्णभोग र आम्रपाली जातका आँप उत्पादन हुने गरेको बाली विकास अधिकृत ठाकुरले जानकारी दिनुभयो । 
जिल्लामा यस वर्ष रु एक करोडभन्दा बढीको आँप बिक्री हुने अनुमाने जिल्ला कृषि विकास कार्यालयको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!