व्यावसायिक सिस्नो खेती आम्दानीको स्रोत

Posted on: 17 Nov, 2018

मङ्सिर १, उदयपुर | उदयपुरको त्रियुगा नगरपालिका–१५ साउनेका कृषकले व्यावसायिक सिस्नो खेतीबाट वर्षेनी राम्रो आर्थिक आम्दानी गर्दै आएका छन् । 

साउनेका कृष्णमाया मगरले यस पटक पनि सिस्नो बिक्रीको समय शुरु भएका कारण आफूले उत्पादन गरेको सिस्नो बिक्री गर्ने तयारी गरेको बताउनुभयो । घर वरपरको पाखा र बारीको काल्लामा व्यावसायिक सिस्नो खेती गर्दै आएको उहाँले दशैँ र तिहारको बीचमा झण्डै रु १० हजारको सिस्नो बिक्री गरेको बताउनुभयो । यस पटक उहाँले मङ्सिरदेखि माघ महीनासम्ममा पचास हजारभन्दा माथिको सिस्नो बिक्री गर्ने लक्ष्य राख्नुभएको छ । 

साउनेको गैह्राटोलमा केही वर्षयता कृषकले व्यावसायिक सिस्नो खेती नै गर्दै आएको हर्कबहादुर मगरले बताउनुभयो । सिस्नो जिल्ला सदरमुकाम गाईघाट बजारका होटल तथा घरमा माग हुने गरेकाले बजारको समस्या नरहेको उहाँको भनाइ छ । 

प्रत्येक हप्ताको बुधबार र शनिबार आफूहरुले सिस्नो गाईघाट बजार पुर्याउने गरेको र प्रतिकिलो रु ४० देखि ६० मूल्यसम्ममा बिक्री हुने गरेको कृषक जीतबहादुर मगरले जानकारी दिनुभयो । यहाँका बासिन्दाले वार्षिक रु बीसदेखि पचास हजारभन्दा माथिसम्मको सिस्नो बिक्री गर्ने गरेका छन् । 

सदरमुकामस्थित मेलिना होटलका सञ्चालक गङ्गा राई वर्षेनी पाँच हजारभन्दा बढीको सिस्नो आफुले खरीद गरेर खाने गरेको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!