सप्तरी र उदयपुर जोड्ने सडकको जग्गा खरीद बिक्री गर्ने कर्मचारीसहित छ जना जेल चलान

Posted on: 11 Jul, 2018

असार २७, गाईघाट, उदयपुर । सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कद्माहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कद्माहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित छ जनालाई मंगलबार पुर्पक्षको लागि प्रहरीले जेल चलान गरेको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी हिरासतमा राखेर अनुससन्धान भइरहेको र मंगलबार जिल्ला अदालत उदयपुरको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएकामा त्रिनपा–३ मोतिगडाका जग्गा विक्रेता शिप्रसाद दाहाल र बुद्धिप्रसाद दाहाल रहेका छन् । 

यस्तै ललितपुर महानगरपालिका–३ खोकनाका जग्गा खरीदकर्ता नेपाल डंगोल, नापी शाखा कार्यालय उदयपुरका प्रमूख शिवचन्द्र ठाकुर, त्रिनपा–३ की वडा सदस्य हरिमाया शाही र लेखनदास हरि ढुंगानालाई अदालतका आदेशअनुसार पुर्पक्षको लागि कारागार चलान गरिएको उदयपुरका प्रहरी प्रमुख(एसपी) नवराज भट्टले बताउनुभयो । 

प्रहरीका अनुसार गत जेठ १६ गते सगरमाथा राजमार्गअन्तर्गत गाइघाट कद्माहा सडकखण्डको त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने सात कट्ठा १९ धुर जग्गा स्थानीय शिवप्रसाद र बुद्धिप्रसाद दाहालले रु एक करोड तीन लाखमा ललितपुर खोकनाको नेपाल डंगोललाई बिक्री गरेका थिए । 

सडकको जग्गा बिक्री गर्ने किन्ने, सिफारिस गर्ने वडा सदस्य र कृतिम नक्सा बनाउने नापीशाखाका प्रमूख र लेखनदास सबैलाई अदालतको आदेशअनुसार पुर्पक्षको लागि जेल चलान गरिएको प्रहरीले बताएको छ ।  (रासस)  

यस बिषयमा तपाइको प्रतिक्रिया...!