होटलमा शेर्पा युवक मृत भेटिए

Posted on: 22 Mar, 2017

चैत ९, उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कटारी बजारको सोलु होटल एन्ड लजको एक कोठामा मङ्गलबार एक शेर्पा युवक मृत अवस्थामा फेला परेका छन् । 

इलाका प्रहरी कार्यालय कटारीका अनुसार होटलमा मृत भेटिएका युवक सोलुखुम्बु जिल्लाको टाक्सिन्दु–६ बस्ने २३ वर्षीय दावा शेर्पा रहेका छन् । शेर्पा सोमबार साँझ नै भारत हुँदै पूर्वको कांकडभिट्टाबाट मात्रीभाग्यरेखा यात्रुवाहक बसमा कटारी आएर कटारी बजारको सोलु होटल एन्ड लजमा बास बसेका थिए । 

तर मङ्गलबार बिहान अबेरसम्म पनि युवक नउठेको र सोही कोठाको अर्को बेडमा सुत्ने अर्का व्यक्तिले युवक नउठेको होटल सञ्चालकलाई बताएपछि घटनाका बारेमा होटल सञ्चालकलाई जानकारी भएको प्रहरीले बताएको छ । 

घटनाका बारेमा जानकारी हुने बित्तिकै होटल सञ्चालकले सो कुरा इलाका प्रहरी कार्यालय कटारीमा खबर गरेको प्रहरीले बताएको छ । प्रहरीको अनुसन्धानपछि मृतक युवाको शवलाई सोमबार नै कटारी अस्पतालमा राखिएको र मृतकका आफन्तलाई सोलुखुम्बुमा सम्पर्क गरेर शव बुझ्न आउन भनिएकाले आजसम्ममा युवकका आफन्त आइपुगेपछि शवपरीक्षण गरेर आफन्तलाई जिम्मा लगाइने इप्रका कटारीका प्रहरी निरीक्षक चन्द्रकुमार राजवंशीले बताउनुभयो । 

प्रहरीका अनुसार मृतक युवा तीन महिनाअघि नै घर छाडेर भारतको मेघालयतिर गएको र फर्कनेक्रममा भारतमा नै लुटिएको कुरा कटारीमा आइपुगेपछि बेलुकी बास बस्नुअघि होटल सञ्चालकलाई भनेका थिए । 

युवाले कटारीस्थित होटलमा आइपुगेपछि बेलुकी खाना पनि नखाई सुतेको र आफू बिरामीसमेत भएको होटल सञ्चालकलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । 

प्रहरीले मृतक युवाको साथमा झोला पनि नभएको र गोजीमा रु आठसय रहेको अनुसन्धानमा देखिएको बताएको छ । अन्य कुरा अनुसन्धान भइरहेको र शवपरीक्षणपछि मात्र थाहा हुने समेत प्रहरीले बताएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!