उदयपुरमा चट्याङले हानेर ३ को मृत्यु, आधा दर्जन घाईते

Posted on: 09 May, 2017

अजयकुमार साह | बैशाख २६, उदयपुर । जिल्लाको विभिन्न स्थानमा गरी आज विहान चट्याङ परेर तिन जनाको ज्यान गएको छ ।

चट्याङ परेर मृत्यु हुनेमा जिल्लाको उत्तरी गाविस जाँते ४, डान्सीङटारका स्थानिय पदमबहादुर विकको ११ बर्षिय छोरी तुलसा विकको मृत्यु भएको छ भने थप मृत्यु हुनेमा कटारी नगरपालिका ११ हर्देनीका ४७ बर्षिय भेषराज खत्री र सोही वडामा पर्ने गहुँवारीका अन्दाजी ५१ बर्षिय बलबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ओम रानाले बताए ।

उनीहरु घरमै बसिरहेको अवस्थामा चट्याङ्ले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा बुवा आमा र बहिनी सँग बसिरहेको अवस्थामा आज विहान करिब ७ बजे चट्याङ लागेर ११ बर्षिय विकको मृत्यु भएको स्थानिय शिक्षक मोहन कार्कीले बताउनुभयो ।

चट्याङ लागेर मृतक बालिकाको आमा अहिले पनि बेहोस अवस्थामा छिन भने विककी बहिनीको केही बेर अगाडी होस खुलेको शिक्षक कार्कीले बताउनुभयो । चट्याङ लागेकी बालिकालाई जाँते स्थित स्वास्थ्य चौकी लैजादै गर्दा बाटोमै मृत्यु भएको जनाईएकोछ । मृतक विक स्थानिय महेन्द्र प्राथमिक विद्यालय ढुकुरथुममा कक्षा ३ मा अध्ययनरत थिईन ।

यता चट्याङ लागेर बेलका नगरपालिकाका ३ जना घाइते भएका छन् । बेनपा ४ का अन्दाजी २४ बर्षिय सरिता अधिकारी, बेनपा ५ का अन्दाजी ४० बर्षिय जयकुमार राई र सोही ठाउँका अन्दाजी १५ बर्षिय प्रविन राई घाइते भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्शिलाका इन्चार्ज प्रहरी निरीक्षक सुवास राईले जानकारी दिए । घाइतेहरुलाई प्रहरीले उद्धार गरी धरानस्थित विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । घाइते मध्ये प्रविनको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ । त्यसैगरी कटारीमा एक र त्रियुगा नगरपालिकामा एक जना सामान्य घाइते रहेको जनाईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!