त्रिवेणी उच्च मावि कटारीको स्वर्ण महोत्सव शुरु

Posted on: 14 Feb, 2018


फागुन २, उदयपुर | उदयपुरको कटारीमा अवस्थित त्रिवेणी उच्च मावि कटारीले विद्यालय स्थापनाको ५० औँ वर्ष पुगेको अवसर पारेर मंगलबारदेखि सप्ताहव्यापी स्वर्णमहोत्सव कार्यक्रमको आयोजना गरेको छ । 

उक्त सप्ताहव्यापी स्वर्ण महोत्सवको उद्घाटन एक औपचारिक कार्यक्रमबीच कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले गर्नुभएको थियो भने फागुन ८ गते यसको समापन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको आयोजकले बताएका छन् । 

स्वर्ण महोत्सवको पहिलो दिन कटारी नगरपालिका अन्तर माविस्तरीय दौड प्रतियोगिता, कटारी बजार नगरसरसफाइ कार्यक्रम सम्पन्न भएको छ । 

फागुन ४ र ५ गते सगरमाथा अञ्चल अन्तर माविस्तरीय भलिबल प्रतियोगिता, फागुन ६ तथा ७ गते लोकनृत्य तथा जिल्लास्तरीय लोकदोहोरी गीत प्रतियोगिता सञ्चालन हुने भएको आयोजक समितिका सचिव तथा त्रिवेणी उच्च माविका प्राचार्य बालकृष्ण कार्कीले बताउनुभएको छ । 

फागुन ८ गते राष्ट्रपति भण्डारीबाट स्मारिका अनावरण, स्मारिक विमोचन, विद्यालयका पूर्वविद्यार्थी तथा विद्यालय स्थापनाका लागि योगदान गर्नुहुने महानुभावलाई सम्मानपत्र वितरण गरिने कार्यक्रम रहेको आयोजकले बताएका छन् । स्मरण रहोस् त्रिवेणी उच्च मावि कटारी जिल्लाकै पुरानो विद्यालयमध्येको एक हो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!