प्रदेश १ को सबैभन्दा ठूलो बसपार्क निर्माण सम्पन्न

Posted on: 25 Aug, 2018

भदौ ९, उदयपुर | उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाट–११ स्थित बरुवा नदी किनारमा निर्माण सम्पन्न भएको प्रदेश नं १ कै ठूलो पूर्व–पश्चिम जोड्ने बरुवा बसपार्क असोजबाट सञ्चालनमा आउने भएको छ । 

बसपार्कको भौतिक निर्माण पूर्णरूपमा सम्पन्न भइसकेका कारण असोज १ गतेबाट औपचारिक रूपमा सञ्चालन गर्न लागिएको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष पशुपतिकुमारी चौधरीले बताउनुभयो । 

आठ बिगाहा सोह्र कठ्ठा जग्गाको बृहत क्षेत्रफलको उक्त बसपार्कको टिकट काउण्टर हल, यात्रु प्रतिक्षालय, सार्वजानिक शौचालय निर्माण पूर्णरूपमा सम्पन्न भइसकेको निर्माण उपभोक्ता समितिका सदस्य ज्ञानबहादुर राउतले बताउनुभयो । 

उक्त बसपार्क निर्माणको लागि शहरी विकास मन्त्रालय र त्रियुगा नगरपालिकाले गरी कूल रु एक करोड बजेटमा बसपार्क निर्माण सम्पन्न भएको समितिका अध्यक्ष चौधरीले बताउनुभयो । यता १ नं प्रदेश सरकारले समेत बसपार्कको बाहिरी कम्पाउण्ड घेराबेराका लागि रु २० लाख बजेट बिनियोजन गरेको समितिका पदाधिकारी बताउँछन् । 

बरुवा बसपार्क हालको सुनसरी चतरा, गाईघाट, कटारी, हेटौंडा हुँदै राजधानी काठमाडौं जोड्ने वैकल्पिक राजमार्गलाई ध्यानमा राखेर १ नं प्रदेशकै बृहत र सबैभन्दा ठूलो बसपार्क निर्माण गरिएको त्रियुगा नगपालिकाका मेयर बलदेव चौधरीले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!