उदयपुरमा एकै दिनमा एक कंकालसहित ४ जनाको शव फेला

Posted on: 28 Sep, 2018

असोज १२, उदयपुर । उदयपुरमा बिभिन्न कारणले एकैदिन ४ जनाको शव भेटिएको छ। शुक्रबार बिहान २ जना मृत फेला परेका छन् भने १ जनाको कंकाल जंगलबीच भेटिएको छ । त्यस्तै १ जनाको ढिस्कोले पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका ३ र ९ को सीमास्थल त्रियुगा खोला बगरमा ४५ वर्षीय वकिल मिया मृत अवस्थामा फेला परेकी छन् । उनी त्रियुगा नगरपालिका ९ गहिरुनका स्थानीय भएको प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए । त्यसैगरी रौतामाई गाउँपालिका ६ रौतानिकासस्थित माटोको ढिस्कोले पुरेर १ वृद्धाको मृत्यु भएको छ । घर लिप्ने माटो खन्दै गरेका बेला माथिबाट ढिस्को झरेर पुर्दा ५९ वर्षीय मधुमाया रायमाझीको मृत्यु भएको हो।

बिहान ९:३० बजे गाउँका माटो खन्न गएका एकै गाउँका ४ जनालाई ढिस्कोले पुर्दा रायमाझीको केहीबेरमै मृत्यु भएको र २ बालकसहित ३ जना घाइते भएको मृतकका आफन्तले बताए । उता उदयपुरगढी गाउँपालिका ६ नेपालटारस्थित पौवा खोलामा आजै १ बेवारिसे शव फेला परेको छ । बिहान बाटो हिँड्ने स्थानीयहरुले खोला किनारमा घोप्टो परेर लडिरहेको शव देखेपछी प्रहरीलाई खबर गरेको हो । अहिलेसम्म शव कसको भन्ने नखुलेको एसपी राईले बताएका छन्।

त्यस्तै त्रियुगा नगरपालिकाकै वडा नं. १६ बेलदोभानमा मक्किसकेको कंकाल फेला परेको स्थानीयले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!