दशैँ नजिकिएसँगै जोखिमपूर्ण यात्रा गर्दै यात्रु

Posted on: 11 Oct, 2018

असोज २५, गाईघाट | बडादशैँ नजिकिएसँगै सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रमा सञ्चालन हुने ठूला तथा साना यातायातका साधनले क्षमताभन्दा बढी यात्रु बोक्न थालेका छन् । सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण ज्यान जोखिमको डर रहेको छ । 

गाईघाटदेखि साउने, खाँबु, रौता, मुर्कुची, नेपालटार, गाईघाट सल्ले तथा फोक्सिङटारसम्म सञ्चालित अधिकांश सवारीसाधनले जबर्जस्ती क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका खाबुका हेमप्रसाद भट्टराईले बताउनुभयो । गाईघाटदेखि पूर्वी क्षेत्रको बेल्टार, रामपुर ठोक्सिलातर्फ सञ्चालन हुने सवारीसाधनले पनि छतमा समेत यात्रु बोक्ने गरेको पाइएको छ । “कोचीकोची यात्रु हाल्ने गरेका छन्, छतमा समेत यात्रु चढाउँदा दुर्घटनाको खतरा बढेको छ,” रौता भुटारका कृष्ण ठकुरीले भन्नुभयो । 

जिल्लाका अधिकांश सडक कच्ची रहेका छन् । वर्षाका कारण भत्किएका सडक मर्मत नहुँदा दुर्घटनाको खतरा छ । सवारीसाधनभित्र र छतमासमेत क्षमताभन्दा बढी यात्रु राख्दा ज्यान जोखिमको डर छ । “छतभरी समेत यात्रु राख्ने गरिएको छ,” ठकुरीले भन्नुभयो । चालक देवेन्द्र मगर चाडपर्वको समयमा यात्रुको चाप बढी हुँदा समस्या हुने गरेको बताउनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!