उदयपुरको रौतामाईमा आधुनिक स्वास्थ्यचौकी निर्माण

Posted on: 27 Oct, 2018

कात्तिक १०, उदयपुर | उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ नामेटार र वडा नं– ४ को मलबासेमा आधुनिक स्वास्थ्यचौकीको निर्माणकार्य सम्पन्न भएको छ । 

उक्त भवनको बिहीबार र शुक्रबार प्रदेश नं– १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गर्नुभएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताउनुभयो । 

रौतामाई गाउँपालिका– १ नामेटार स्वास्थ्यचौकी भवन नेपाल सरकार शहरी विकास मन्त्रालयको रु एक करोड ८२ लाखको आर्थिक सहयोगमा निर्माण भएको अध्यक्ष खड्काले बताउनुभयो । 

२६ वटा कोठासहित दुईतले पक्की भवनमा १५ श्ययासम्म अस्पताल सञ्चालन हुनेगरी निर्माण गरिएको छ । भवनमा प्रसूति तथा बर्थिङ कक्ष, ल्याब, एक्सरे कक्ष, परिवार नियोजन कक्षसहित बिरामीका लागि छुट्टै कोठाको निर्माण भएको छ । 

एक रोपनी क्षेत्रफलको जग्गामा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन २०७२ मा निर्माणकार्य शुरु भई २०७५ को भदौ महिनामा निर्माणकार्य सम्पन्न भएको वडा नं– १ का वडाध्यक्ष रुद्रबहादुर कार्कीले बताउनुभयो । 

यस्तै रौतामाई गाउँपालिका–४ मलबासेमा पनि आधुनिक स्वास्थ्यचौकी भवन २०७४ सालबाट निर्माणकार्य शुरु भई २०७५ को भदौ महिनामा निर्माणकार्य सम्पन्न भएको हो । नेपाल सरकार शहरी विकास मन्त्रालयको रु एक करोड २४ लाखको आर्थिक सहयोगमा उक्त नयाँ भवन निर्माण भएको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रराज मगरले बताउनुभयो । 

यस्तै रौतामाई गाउँपालिका वडा नम्बर ८ मा नया वडा कार्यालय भवन समेत निर्माण कार्य सम्पन्न भएको छ । रौतामाई गाउँपालिका,शहरी विकास मन्त्रालय र प्रदेश नं– १ को आर्थिक सहयोगमा रु ३५ लाखको लागतमा नयाँ एक तले वडा कार्यालय भवनको निर्माणकार्य सम्पन्न भएको हो । 

उदयपुर जिल्लामा आठ स्थानीय तहमध्ये रौतामाई गाउँपालिका भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा अन्य स्थानीय तहको तुलनामा निकै अगाडि बढिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!