प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on: 03 Jan, 2019

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ । 

खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन केन्द्र छन् । 

सो अवसरमा प्रधानमन्त्री ओलीले साता दुई साता लम्बिए पनि मेलम्चीको पानी सक्दो चाँडो काठमाडौँ ल्याउन सरकार लागिपरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “२७ वर्षसम्म चिप्लेकीराको गतिमा काम भए पनि अहिले गति लिएको छ ।” एक प्रसङ्गमा उहाँले भारतमा बग्ने गङ्गा नदीमा हिउँदमा ७२ प्रतिशत नेपालबाट बगेका पानी भएको र त्यसले विहार र उत्तर प्रदेशलाई समेत मरुभूमि हुनबाट बचाएको बताउनुभयो । 

सो अवसरमा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले केन्द्रमा पानीलाई प्रशोधन गरेर विभिन्न कामका लागि प्रयोग गर्न सकिन्छ भने फोहर पानीको अरु सम्भावना पनि उत्तिकै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ यसबाट विद्युत् उत्पादन र मलको पनि उत्पादन हुन सक्छ ।” 

मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले मृतावस्थामा रहेका नदीलाई ब्यूँताउन मन्त्रालयले काम शुरु गरेको बताउँदै देशभरका शहरी क्षेत्रमा खानेपानी वितरणसँगै ढल व्यवस्थापन भइरहेको जानकारी दिनुभयो । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले केन्द्रबाट दुर्गन्ध फैलिँदैन भनेर स्थानीयवासीलाई विश्वास दिलाइएको र सुन्दरीघाटमा पनि केन्द्र निर्माणका लागि स्थानीयवासीसँग छलफल भइरहेको जनाउनुभयो । आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी उपत्यका भित्रिएपछि खानेपानीको समस्या हल भए पनि फोहरपानीको मात्रा बढ्ने औँल्याउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!