उदयपुरको लिम्ङचुङबुङमा पाँच दिने महोत्सव शुरु

Posted on: 15 Apr, 2019

वैशाख २, गाईघाट । उदयपुर जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–३ स्थित सातदोबाटे डाँडामा वैशाख १ गतेदेखि पाँच दिने लिम्चुङबुङ महोत्सव शुरु गरिएको छ ।

उक्त गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र गाउँपालिकामा बसोवास गर्ने विभिन्न जातजाति तथा भाषाभाषीका सांस्कृतिक पहिचान गराउने लक्षका साथ आइतबारदेखि पाँच दिने महोत्सव आयोजना गरिएको लिम्चुङबुङ पर्यटन विकास समितिका संयोजक ज्ञानबहादुर राईले बताउनुभयो ।

सो गाउँपालिकाले सञ्चालन गरेको उक्त महोत्सवको पहिलो दिन लिम्चुङबुङमा बसोवास गर्ने राई क्षेत्री, ब्रम्हाण, तामाङ, मगर तथा दलित जातिसँग सम्बद्ध सांस्कृतिक झाँकी तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

यस्तै दोस्रो दिनदेखि किराँती राईको साकेला नृत्य, मगरजातिको सोरठी तथा हुर्रा नृत्य, तामाङ जातिको सेलो नृत्य, क्षेत्री तथा ब्राह्मण जातिको बालान नृत्य र दलित जातिको पञ्चैबाजा प्रतियोगिता गरिएको पनि उक्त समितिले जनाएको छ ।

यस्तै स्थानीय जात, जातिको खानाको परिकार तथा स्थानीय क्षेत्रमा उत्पादित घरेलु बस्तु तथा सामग्रीसमेत महोत्सवमा प्रदर्शनीमा राखिएकाले
यसबाट लिम्चुङबुङको सांस्कृतिक पहिचान राउन मद्दत मिल्ने र आन्तरिक तथा बाह्य पर्यटनको विकासमा समेत सहयोग मिल्ने गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो ।

समुद्री सतहदेखि दुई हजार ३५० मिटरको उचईमा रहेको सो गाउँपालिकाबाट उत्तरी क्षेत्रको आठवटा हिमाल अवलोकन गर्न सकिने र १ नम्बर प्रदेशसहित तराईका सातवटा जिल्लासमेत अवलोकन गर्न सकिने भएकाले पनि यो क्षेत्रमा १ नम्बर प्रदेशकै सबैभन्दा अग्लो ७५ मिटर उचाइको भ्यूटावर समेत निर्माण शुरु भएको गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!