त्रियुगा नदीको बाँध फुटेर पाँच सय घर डुबानमा

Posted on: 13 Jul, 2019

 असार २८, गाईघाट । चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–१ तपेश्वरीमा आज बिहान त्रियुगा नदीको बाँध फुट्दा तपेश्वरी क्षेत्रका पाँचसय भन्दा बढी घर डुबानमा परेका छन् ।

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार त्रियुगा नदीको बाँध फुटेर पूरै त्रियुगा नदी तपेश्वरी क्षेत्रमा प्रवेश गरेपछि अहिले सशस्त्र प्रहरी नेपाल प्रहरी र नेपाली सेनाको टोलीले  दुई सय जनाको उद्धार कार्य गरिसकेको छ भने अन्यको पनि उद्धार कार्य जारी राखेको छ ।

तपेश्वरी क्षेत्रमा थप क्षति हुन नदिन  नेपाली सेना र सशस्त्र प्रहरी इटहरीबाट समेत थप सामग्री मगाएर उद्धार कार्य शुरु गरिएको प्रजिअ खड्काले बताउनुभयो ।

पूरै तपेश्वरी गाउँनै त्रियुगा नदीको डुबानमा परेको र हेलिकप्टर मगाउन प्रयास गरिए पनि उडान हुन नसक्ने अवस्था रहेका कारण अहिले प्रदेश नं १ इटहरीसहित जिल्लाका सुरक्षाकर्मी ‘जेटबोट’ परिचालन गरेर तपेश्वरीमा उद्धारकार्यमा जुटेका प्रजिअ खड्काले जानकारी दिनुभयो ।

अहिले नै रेडक्रससहित औषधि, लत्ताकपडा खानेकुराका लागि सहयोग गर्ने टोली पनि तपेश्वरीतर्फ पठाउने कार्य भइरहेकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै कटारी नगरपालिकाको कटारी बजारस्थित तावा खोला किनारका पच्चीस घर मुसहरबस्तीसमेत डुबानमा परेपछि अहिले सो क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको प्रजिअ खड्काले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!