उदयपुरमा क्वारेन्टाइनमा बसेका युवाद्वारा आत्महत्या, बेलका र मैनामैनीमा ५७ जनाको स्वाब सङ्कलन

Posted on: 01 May, 2020

वैशाख १९, गाईघाट | अहिले कोरोनाको केन्द्रविन्दुको रुपमा देखापरेको उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिकाको बेलका र सोही नगरपालिकाको वडा नं ७ मैनामैनीमा ५१ जनाको स्वाब नमूना सङ्कलन गरेको छ । 

जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका अनुसार बिहीबार जिल्लाको बेलका नगरपालिकाको रामपुरमा २६ र सोही नपाको मैनामैनीमा २५ गरी कूल ५१ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ । ती सबै नमूना परीक्षणका लागि प्रदेश नं १ जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको हो । बेलकाको मैनामैनीलाई जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले खतरायुक्त स्थानको रूपमा सूचीकृत गरेको कारण पनि मैनामैनी र बेलकामा स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको कार्यालय प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

त्यसैगरी जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको भुल्के, गाईघाट, बोक्से, मोतिगडा क्षेत्रका ८३ जनाको स्वाब नमूना .सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाएकामा ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य व्यक्तिको रिपोर्ट आउन बाँकी छ । बिहिबार ५७ जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी अन्यको आज साँझसम्ममा रिपोर्ट आउन सक्ने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 

स्वास्थ्य कार्यलय उदयपुरका टोली र बेलकाका स्वास्थ्यकर्मीसहित १० जनाको टोलीले स्वाब नमूना सङ्कलन गरेको स्वास्थ्य कार्यलयले जनाएको छ । 

क्वारेन्टाइनमा बसेका युवाले गरे आत्महत्या

उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको एक युवकले गए राति श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् । 

आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताउनुभयो । केही दिनअघि श्रीमतीसँगै काठमाडौँबाट घर आउने क्रममा विकलाई जनता क्याम्स मुर्कुचीको क्वारेन्टाइनमा राखिएको रौतामाई गाउँपालिकाले जनाएको छ । श्रीमतीको सल निकालेर भित्ताको रडमा बाँधी घाँटीमा बेरिएर विकले आत्महत्या गरेको खुल्नमा आएको अध्यक्ष खड्काले बताउनुभयो ।

उहाँका अनुसार, अहिले जनता क्याम्सको क्वारेन्टाइनमा विकको सर्जिमिन मुचुल्का गर्ने काम शुरु भएको छ । विक र उनकी श्रीमती काठमाडौँ चाबहिलमा बस्दै आएको र पोखरा–काठमाडौँ ट्राभल एजेन्सीमा काम गर्ने गरेका थिए । उनी वैशाख ११ गतेदेखि रौता जनता क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । प्रहरी चौकी मुर्कुचीका प्रहरी टोलीले सर्जिमिन मुचुल्का गर्ने काम भइरहेको र विकका आफन्तलाई पनि घरबाट झिकाउने काम भएको अध्यक्ष खड्काले बताउनुभयो । विकले आत्महत्या किन गरे भन्नेबारे केही खुल्न नसकेको उहाँ बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!