बग्दादमा बम आक्रमण ७ को मृत्यु, २५ घाइते

Posted on: 27 Sep, 2016

असोज ११, बग्दाद । पूर्वी बग्दादको सिया मुसलमान इलाकालाई लक्ष्यगरी मङ्गलबार सडककिनारमा राखिएको बम र आत्मघाती बम हमलामा परी कम्तीमा सात व्यक्तिको मृुत्यु भएको छ । 

यस हमलाहरुमा परी सातको मृत्यु हुनुको साथै अन्य २५ व्यक्ति घाइते भएका प्रहरी र चिकित्सक स्रोतले जानकारी दिएको छ । पूर्वी बग्दादको जादिदा क्षेत्रमा सडककिनारमा रहेको बम विस्फोटन गराइएको थियो । 

त्यसैगरी न्यु बग्दाद जिल्लाको प्रहरी कार्यालयनजिकै विस्फोटन पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले सो आक्रमण गरेको बताइएको छ । 

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर सिया मुसलमान समूदायविरुद्ध बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट समूहले नै यस्ता आक्रमण गराउँदै आएकोले यस आक्रमणमा पनि सोही समूहको हात रहेको प्रहरीले अनुमान गरेको छ । 

इराकमा अगस्टभरी भएका आतङ्ककारी घटनामा कम्तीमा ६९१ जनाको मृत्यु हुनको साथै अन्य एक हजार १६ जना घाइते भएका इराकको लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जानकारी दिएको छ । 

इराकको टिक्रिट सहरमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको एक दिन पछाडि पुनःगत आइतबार आत्मघाती आक्रमण भएको थियो । त्यसको दुई दिन पछाडी मङ्गलबार पुनःआत्मघाती बम हमला भएको छ । रासस/एएफपी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!