चीनद्वारा दुई जना मानवसहितको अन्तरिक्षयान प्रक्षेपण (भिडियो सहित)

Posted on: 17 Oct, 2016


कार्तिक १, काठमाडौँ | चीनले दुई जना अन्तरिक्षयात्रीसहितको अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको छ । अन्तरिक्षको बारेमा अध्ययन गर्ने परियोजना अन्तरगत उनीहरुलाई त्यहाँ पठाइएको हो ।

उत्तरी चीनमा रहेको जिउक्वान स्याटेलाइट लञ्च सेन्टरबाट दुई अन्तरिक्ष यात्रीसहितको यानलाई प्रक्षेपण गरिएको थियो ।

उनीहरु टियाङगोङ २ स्पेस ल्याबमा पुग्नेछन् जहाँ उनीहरुले ३० दिन बिताउनेछन् । अन्तरिक्षमा यति धेरै समय बिताउने उनीहरु पहिलो चिनियाँ अन्तरिक्ष यात्री बन्नेछन् ।

यो परियोजनालाई मानवसहितको यान चन्द्रमा वा मंगल ग्रहमा पठाउने चीनको तयारीको रुपमा हेरिएको छ । अहिलेको मिसनमा ४९ वर्षीय जिङ हाइपेङ र ३७ वर्षीय चेन डोङ रहेका छन् । हाइपेङ यसअघि दुई पटक अन्तरिक्षमा पुगेर आइसकेका छन् ।

मानवसहितको यान अन्तरिक्षमा पठाउने चीन तेस्रो मुलुक हो । यसअघि रसिया र अमेरिकाले मात्र अन्तरिक्षमा मानवसहितको अन्तरिक्ष यानलाई पठाएको थियो । 

यतिखेर चीनले अन्तरिक्षमा आफ्नै स्पेस स्टेसन खडा गर्न लागिपरेको छ । टियाङगोङ २ लाई विस्तार गर्न आगामी केही वर्षमा थप सामग्रीहरु अन्तरिक्ष पठाउने चीनको तयारी रहेको छ । यो सन् २०२२ मा पूर्ण रुपमा तयार हुने बताइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!