प्रहरी कारबाहीमा ओडिसामा १८ माओवादी मारिए

Posted on: 24 Oct, 2016

कात्तिक ८, नयाँदिल्ली । भारतीय पूर्वी राज्य उडिसामा भएको प्रहरी कारबाहीमा परी कम्तीमा पनि १८ जना नक्सालवादी मारिएका छन् । 

सोमबार दिउँसो सो कारबाही भएको बताइएको छ । कारबाहीका क्रममा दुईजना प्रहरी पनि घाइते भएका समाचारमा उल्लेख गरिएको छ । ओडिसाको मालकानगिरी नामक जङ्गलमा प्रहरी र नक्सालवादी लडाकूबीचमा दोहोरो गोली हानाहान भएको थियो । 

सोही क्रममा १८ जना नक्सालवादी मारिएका भारतीय प्रहरीले जानकारी दिएको छ । ओडिसाको सदरमुकाम भुवनेश्वरबाट प्रहरी र नक्सालवादी लडाकूबीचमा दोहोरो गोली हानाहान भएको जङ्गल करिब ६५० किलोमिटर दक्षिणपश्चिम क्षेत्रमा पर्दछ । 

आन्द्रप्रदेश र ओडिसाको संयुक्त विशेष प्रहरी बलले सो कारबाही गरेको थियो । उक्त संयुक्त बलमाथि सोमबार बिहानै नक्सालवादी लडाकूहरुले हमला गरेका थिए । 

हमलापछि ठूलो सङ्ख्यामा नक्सालवादी मारिएका जानकारी भारतीय प्रहरीले सोमबार बिहान नै दिएको थियो । 

भारतीय प्रहरीले सोमबार अपरान्ह सो झडपमा मारिने प्रहरीको सङ्ख्या १८ पुगेको जनाएका छन् । त्यसमा परी अरु पनि कैयौं प्रहरी घाइते भएका प्रहरीको भनाइ छ । 

उक्त जङ्गल क्षेत्रमा करिब ५० देखि ६० जना नक्सलाइट्स जम्मा भएका सूचनाको आधारमा सो जङ्गललाई घेराहाली प्रहरीले कारबाही थालेको थियो । 

तर प्रहरीको कारबाही सुरु हुनु अगावै नक्सलाइट्सले प्रहरीमाथि हमला थालेका थिए । यसअघि पनि सो जङ्गलमा ठूलो सङ्ख्यामा नक्सालवादी मारिएका थिए । नक्सालवादीलाई माओवादी पनि भन्ने गरिन्छ । 

भारतीय पूर्वी राज्यहरुमा सन् १९६७ देखि नै माओवादी आन्दोलन सुरु भएको हो । जमिनदारी प्रथाका विरुद्ध र गरिबहरुको हक अधिकारको स्थापनाका लागि भन्दै उनीहरुले भारतमा विगत लामो समयदेखि नै हिंसात्मक विद्रोह सुरु गरेका थिए । 

हालसम्म ती विद्रोहीका कारण सयौं नागरिकको ज्यान गइसकेको छ । प्रहरीले खोजी र कारबाहीको काम जारी नै राखेका छन् । रासस÷ सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!