ब्राजिलियन खेलाडीको श्रद्धाञ्जली सभामा सहरको आधा जनसंख्या उपस्थित हुने

Posted on: 03 Dec, 2016


मंसिर १८, चापाको । विमान दुर्घटनामा मारिएका आफ्ना खेलाडीलाई श्रद्धाञ्जली दिन ब्राजिलको दक्षिण सहर चापाकोस्थित क्लबको रंगशाला अगाडि शहरको आधा जनसंख्या जम्मा हुने अपेक्षा गरिएको छ ।

श्रद्धाञ्जली सभा शनिबार हुँदैछ । 

कोलम्बियाको मेडलिन सहरमा दुर्घटनाग्रस्त भएको बोलिभियन विमानमा यात्रा गरिरहेका चापाकोइन्सेका २२ सदस्यीय खेलाडीसहित क्लबसँग आवद्ध ५१ जनाको ज्यान गएको थियो। सबै लासलाई कोलम्बियाबाट ब्राजिली सेनाको विमानले ओसार्ने बताइएको छ ।

श्रद्धाञ्जली सभामा सहरका एक लाख व्यक्ति उपस्थित हुने जनाइएको छ । ब्राजिलको दक्षिणी सहरमा पर्ने चापाकोको जनसंख्या कूल २ लाख छ । १० दिनअघि मात्र कोन्डा एरिनामा रहेको रंगशालामा बिजुली बालिएको थियो ।

सभाको व्यवस्थापन मिलाउन २० हजार क्षमताको रंगशालाको दुबै छेउमा ठूलो स्क्रिन लगाउने कामलाई तदारुक्ताका साथ अगाडि बढाइएको छ। यस्तै, विमान दुर्घटनामा ज्यान गुमाएका खेलाडी तथा पदाधिकारीका २ हजार पारिवारीक सदस्यलाई बस्नका लागि टेन्टको व्यवस्था गरिएको छ ।

लाशलाई विमानस्थलमा ब्राजिलियन फुटबल संघका अध्यक्ष मिचेल टेमेरले श्रद्धाञ्जली दिने कार्यक्रम छ। यस्तै शोक सभामा भाग लिन अस्ट्रेलियाको भ्रमण स्थगित गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनो ब्राजिल पुगिसकेका छन् ।

यस्तै, विश्व फुटबलका दुई महान खेलाडी ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनासहित वर्तमानका स्टार खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेसीले गहिरो दुःख व्यक्त गरिसकेका छन् ।

आज हुने च्याम्पियन्स लिगको खेल अगाडि सम्पूर्ण खेलाडीलाई मौन धारण गर्दै श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ। विमान दुर्घटनामा खेलाडीबाहेक १३ ब्राजिलियन, पाँच बोलिभियन र एक भेनेजुएलाका व्यक्ति रहेको बताइएको छ । एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!