बम राखिएको भनिएको अमेरिकाको विमान सकुशल अवतरण

Posted on: 11 Dec, 2016

मङ्सिर २६, अमेरिका । संयुक्त राज्य अमेरिकाको एउटा निजी क्षेत्रको विमान कम्पनीः बोस्टन सेल्टिक्सको एक विमानमा बम राखिएको हल्ला चले तापनि सो बिमान ओक्लाहोमा सिटीमा सकुशल अवतरण गरेको स्थानीय बोस्टन ग्लोब समाचारपत्रले उल्लेख गरेको छ । 

ओक्लाहोमा सिटीमा आइतबार आयोजना हुन गै रहेको “थन्डर” नामक खेलमा सहभागी हुन खेलाडीको टिम र कार्यकारीहरु चढेको उक्त विमान प्राइभेट चार्टर उडानमा म्यासाच्युसेट्स राज्यको बेडफोर्ड बिमानस्थलबाट ओक्लाहोमा सिटीका लागि शनिबार बेलुकीपख प्रस्थान गरेको थियो । 

विमानमा बम राखिएको भनी विमान उडिरहेकै अवस्थामा कसैले चलाइ दिएको हल्ला चालक दल र टिमका केही कार्यकारीहरुको मात्र जानकारीमा रहेको थियो । 

खेलाडीहरु भयभीत हुन नपाउन भनी अरु कसैलाई पनि थाहा दिइएको थिएन । अन्ततः विमान विल रोजर्स विमानस्थलमा बेलुका पाँच बजे सकुशल अवतरण ग¥यो । 

विमान अवतरण भएपछि मात्र बम राखेको भनिएको हल्ला सबै यात्रुलाई जानकारी गराइएपछि दौडादौड मच्चिन गयो । विमानस्थल अधिकारीहरुले विमानमा राखिएका सबै ब्यागेज, सरसामान नियन्त्रणमा लिई यात्रुहरुलाई मात्र बाहिर निस्कने अनुमति दिए । 

पछि, अमेरिकी फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई), ओक्लाहोमा सिटी फिल्ड अफिसका सम्बन्धित अधिकारीहरु आई शनिबार राति विमानभित्र सबैतिर सम्पूर्ण जाँच गर्दा कहिँ कतै पनि बम वा विस्फोटक पदार्थ फेला परेन । 

बम राखिएको हल्ला कुन बदमासले कहाँबाट फैलाएको हो यसबारे एफबिआईले थप अनुसन्धान गरिरहेको पनि बोस्टन ग्लोबले जनाएको छ । रासस/एपी 

(फाइल तश्विर) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!