विषालु ग्यास आक्रमणमा मृत्यु हुनेको सख्या ३५ पुग्यो

Posted on: 04 Apr, 2017

चैत २२, दामस्कस । उत्तरपश्चिमी सिरियामा भएको विषालु ग्यास आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ३५ पुगेको छ । 

सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले मृतकमध्ये अधिकांश आम नागरिक रहेको जनाएको छ । मङ्गलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी मृत्यु भएका नौ जना बालबालिका समेत रहेका छन् । 

इडलिब प्रदेशको खान सेइखुनमा उनीहरुमाथि हवाई जहाजबाट विषालु ग्यास प्राहार भएको हो । ग्यास आक्रमणमा परी अन्य धेरैजनालाई स्वासप्रश्वासमा समस्या भएको जनाइएको छ । 

आक्रमणबाट पीडितले बान्ता गर्ने र मुखमा फिँज आउने समस्या देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

इडलिब प्रदेश अलकायदाका पूर्वलडाकुहरु संलग्न रहेको फेतह अल साम फ्रन्टको नियन्त्रणमा रहेको छ । त्यसैले सो क्षेत्रमा ती लडाकुलाई लक्षित गरी निरन्तर हवाई आक्रमण हुने गरेका छन् । 

यसैबीच, सिरियाको प्रतिपक्षी पार्टीले ग्यास आक्रमण गर्ने कार्य अमानविय र मानवअधिकार विपरित भएको भन्दै घटनाको छानविन गर्न माग गरेको छ । प्रतिपक्षी नेश्नल कोलिसनले सुरक्षा परिषद्को आपतकालिन बैठक तत्काल बोलाएर खुल्ला र निश्पक्ष छानविन गर्न लगाउन संयुक्त राष्ट्रसङ्घसँग माग गरेको हो । रासस/एएफपी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!