कतारमाथिको नाकाबन्दी अन्तर्राष्ट्रिय कानूनविपरीत: टर्कीस राष्ट्रपति

Posted on: 26 Jun, 2017

असार ११, काठमाडौँ । कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानून विपरीत भएको धारणा राख्नुभएको छ । 

टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्दोगानले आइतबार यस्तो धारणा राख्नुभएको हो । उहाँले भन्नुभएको छ– कतारमाथिको प्रतिबन्ध सरासर अन्तर्राष्ट्रिय कानूनविपरीत रहेको छ र त्यसलाई खुकुलो बनाउने निहूँमा ती देशले कतारमाथि राखेका विभिन्न शर्तहरु झनै अवैधानिक छन् । 

कतारमाथि उसका छिमेकी गल्फ देशले नाकाबन्दी लगाएका छन् । कतारमाथि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक सम्बन्ध पनि विच्छेद गरेका साउदी अरेबियालगायतका देशले पछिल्लो समयमा पुनः कतार माथि विभिन्न शर्त राखेका छन् । 

उनीहरुले राखेका शर्तहरुमध्ये एउटा कतारको टेलिभिजन अल जाजिरा बन्द गर्नुपर्ने पनि हो । यो सहित उनीहरुले सामुहिक रुपमा १३ वटा विभिन्न शर्त अघि सारेका छन् । 

कतारले भने ती सबै शर्तमा कुनै पनि नमान्ने जवाफ दिएको छ । ती देशले कतारसँग हिजो शनिबार सम्म शर्त पूरा भएमा मात्र कतारसँग पुनः सम्बन्ध जोड्ने चेतावानी दिएका थिए । 

टर्कीको सरकारी समाचार समिति अनादोलु समाचार समितिले राष्ट्रपति एर्दोगानलाई उद्धृतगर्दै भनेको छ– हामी कतारको साथमा छौँ, कतारले शर्त स्वीकार्य छैन भनी दिएको अभिव्यक्तिको हामी स्वागत गर्दछौँ । 

कतारमाथि यस्तो प्रतिबन्ध लागेको दुई हप्तापछि चारवटा गल्फ देशले कतारमाथि शर्त राखेका छन् । कतार समस्याको समाधानका लागि अगुवाई गरेको भन्दै कुवेतले मध्यस्थता गरेको छ । 

कुवेतमार्फत नै यो शर्तको कुरा आएको हो । 

ती शर्तहरुमा दोहामा रहेको टर्कीको सैनिक पोष्ट पनि हटाउनुपर्ने भनिएको छ । त्यो शर्तमा पनि कतार सहमत नभएको बताइएको छ । 

टर्कीस् राष्ट्रपति तैयपले दोहामा रहेको टर्कीस् सैनिक पोष्ट हटाउनका लागि गल्फ देशहरुले दिएको आदेशले टर्कीको अपमान गरेको बताउनुभएको छ । उहाँले यो शर्त कतारले नमानेर ठीक गरेको बताउनुभएको पनि सो समाचारमा उल्लेख गरिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!