अमेरिकाको टेक्सासमा ट्रकभित्र थुनिएका नौजनाको मृत्यु

Posted on: 24 Jul, 2017


साउन ९, काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा एउटा ठूलो ट्रकको पछिल्लो भागमा दर्जनौं मानिसलाई राखिएकोमा तीमध्ये नौजनाको मृत्यु भएको छ ।

बालबालिकासहित अन्य २८ जनालाई अस्पताल पु–याइएको छ । उनीहरू सान आन्टोनियोमा एउटा ट्रेलरमा बसेका थिए र त्यसभित्र न चिसो हावाको व्यवस्था थियो न त पिउने पानी नै उपलब्ध थियो । बाहिरको तापक्रम ३८ डिग्री सेल्सियस थियो ।

प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ । चालकको नाम जेम्स म्याथ्यु ब्राड्ली भएको र उनी फ्लोरिडाको बासिन्दा भएको अधिकारीहरूले बताएका छन् । उनलाई अदालतमा पेश गरिँदैछ ।

नजिकैको स्टोरबाट प्राप्त भिडियो फूटेजमा बाँचेका केही मानिसलाई लिनका लागि केही गाडीहरू आएको देखिन्छ । अन्य धेरैजना चाहिँ जंगलमा पैदलै भागेका थिए ।

अमेरिकी अधिकारीहरूसँग मिलेर पीडितहरूको राष्ट्रियताको पहिचान गर्न काम गरिरहेको मेक्सिको सरकारले बताएको छ ।

सान आन्टोनियो मेक्सिकोको सिमानामा पर्छ र अमेरिकाको आप्रवासी विभागले पीडितहरूको कानूनी हैसियत निर्धारण गर्ने कोशिश गरिरहेको छ ।

यी पीडितहरू अवैध आप्रवासी हुन् । बीबीसीबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!