डुङ्गा डुब्दा सातको मृत्यु

Posted on: 28 Jul, 2017


साउन १३, टर्की । आप्रवासी शरणार्थी लिएर टर्कीको बाटो ग्रीसतर्फ हिँडेको डुङ्गा टर्कीको सामुद्रिक इलाकामा डुब्दा पाँच बालबालिका सहित सात जनाको मृत्यु भएको टर्कीको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ । 

अनादोलु न्युज एजेन्सीका अनुसार टर्कीको केश्मी एलाकामा बिहीवार अबेर भएको दुर्घटनामा पाँच बालबालिका र दुई वयस्क व्यक्तिको मृत्यु भएको छ । घटनामा चार इराकी, तीन सोमालियाली र दुई सिरियाली नागरिकको सकुशल उद्धार गरिएको छ । एक जना शरणार्थी हराइरहेको बताइएको छ । 

गरिबी र द्वन्द्वको पीडाले शरणार्थी बनी मध्यपूर्वबाट हजारौं व्यक्तिले आफ्नो जीवनको प्रबाह नगरी समुद्रको बाटो यूरोप र अमेरिकी मुलुकमा पुग्ने क्रम विगतको तुलनामा केही कम भएको छ । तर अझैपनि ठूलो सङ्ख्यामा मानव तस्करको फन्दामा परी मध्यपूर्वी मुलुकबाट सामुद्रिक बाटो यूरोप जाने क्रम भने रोकिएको छैन । 

डुङ्गाको क्षमताभन्दा बढी यात्रु राखेर ग्रीसतर्फ हिँडिरहेका वेला भएको उक्त घटनापछि मानव तस्करले शरणार्थीलाई अलपत्र छोडी भागेको बताइएको छ । प्रहरीले शरणाथीलाई अलपत्र पार्ने तस्करको समूहको खोजी जारी राखेको छ । रासस/सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!