दोस्रो विश्वयुद्धमा अमेरिकाले फालेको बम नपड्किएको अवस्थामा जापानमा भेटियो

Posted on: 10 Aug, 2017


साउन २६, टोक्यो । जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहीबार भेटिएको छ ।

दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक एटम बमले हमला गरेको थियो।

सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा र अगष्ट ९ मा नागासाकीमा बम हमला गरेको थियो। सो बम आक्रमणका क्रममा दुई लाखभन्दा बढी नागरिकको ज्यान गएको थियो। जापानको फुकुसिमामा रहेको परमाणु उर्जा केन्द्रको परिसरमा सो बम भेटिएको बिहीबार जनाइएको छ।

उक्त केन्द्रको परिसरमा मजदुरहरुले सवारी साधन पार्किङ्का लागि पार्किङस्थल निर्माण गर्ने क्रममा खन्दा सो नपड्किएको बम भेटिएको समाचारमा जनाइएको छ ।

सुरुमा उक्त सङ्कास्पद बस्तु के हो भनेर मजदुरले खबर गरेर हेरिएको र पछि सो बस्तु नपड्किएको बम नै रहेको भनी पत्तालागेको उक्त परमाणु प्लान्टका प्रवक्ताले जानकारी दिएका छन् ।

उनका अनुसार काम गरिरहेका बेला मजदुरले सो वस्तु देखाएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले पनि ती मजदुरलाई उक्त कार्यस्थलबाट बाहिर जान नदिई सो निर्माणस्थललाई नै प्रहरीको घेराभित्र पारेर अनुसन्धान गरेको थियो ।

पछि सो वस्तु बम नै हो र पुरानो हो भन्ने पत्ता लागेपछि उनीहरुलाई छोडिएको छ । हाल उक्त वस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त बम ८५ सेन्टिमीटर लामो छ । जमिनमुनी पुरिएको अवस्थामा सो वस्तु रहेको थियो ।

प्रहरीले अुनसन्धानकर्ताहरु समेत लगाएर गरेको अनुसन्धानबाट सो वस्तु दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानलाई आक्रमण गर्ने क्रममा फालेको बम नै भएको प्रमाणित भएको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!