भारत र चीन दोक्लामबाट सेना फिर्ता बोलाउन तयार

Posted on: 28 Aug, 2017


भदौ १२, काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा चलिरहेको विवाद अन्त्य हुने लक्षण देखिएको छ ।

केही महिनायता दुई देशबीच दोक्लामका विषयमा चलिरहेको विवाद समाधान गर्न दुबै देशका अधिकारीहरु सहमत भएका जनाइएको छ । कूटनीतिकस्तरमा भइरहेको प्रयासस्वरुप महत्वपूर्ण सहमति बनेको दाबी भारतीय अधिकारीहरुले गरेका छन् ।

भारतीय विदेश मन्त्रालयकाअनुसार दुबै देश दोक्लामबाट सेना हटाउन तयार भएका हुन् । दोक्लामका विषयमा भारत र चीनले हालैका दिनमा कूटनीतिकस्तरमा एकापसको चिन्ता र हितकाबारेमा छलफल गरेको र यसै आधारमा दोक्लाम विवाद कम गर्न सेना हटाउने फैसला लिएको विदेश मन्त्रालयले विज्ञप्ति निकाली जनाएको छ । सीमा विवादकै कारण केही महिनायता भारत र चीनबीच तनावपूर्ण अवस्था बनेको थियो ।

सन् १९६२ मा युद्ध मैदानमा आमने–सामने भइसकेका यी दुई मुलुकमा फेरि युद्ध भड्किने आशंका बढेकाबेला शान्तिपूर्ण समाधान खोजिएको जनाइएको छ । दोक्लाम विवाद बढेपछि दुबै देशले सीमामा सुरक्षा फौजको तैनाथी बढाएका थिए । दोक्लाममा चीनले सडक बनाउन लागेकोमा भारतले विरोध गरेपछि विवाद बढेको थियो ।

दोक्लाम भारतको सिक्किम, भुटान र चीनको साझा सीमा क्षेत्र रहेको दाबी भरतले गर्दै आएको छ भने चीन दोक्लाम भुटानसँगको सीमा क्षेत्रमात्र भएको जिकिर गर्दछ । चीनले दोक्लामसम्म सडक ल्याएमा भारतको उत्तरपूर्वी राज्यमा चीनको सीधा पहुँच हुने डरमा भारत रहेको छ । -एजेन्सीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!