मेक्सिकोमा ८ दशमलव १ रेक्टर स्केलको भूकम्प

Posted on: 08 Sep, 2017

भदौ २३, काठमाडौँ । मेक्सिको दक्षिणी तटपारि प्रशान्त महासागरमा ८ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ ।

युएस जीओलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु पिजीजीपान शहरभन्दा ८७ किलोमिटर दक्षिण पश्चीममा रहेको र गहिराई ७० किलोमिटर रहेको जनाएको छ ।


भूकम्पको धक्का मेक्सिको सिटीमा महसुस गरिएको थियो । मेक्सिको सिटीमा एक मिनेटसम्म भूकम्पको धक्का महसुस गरिएको थियो । प्रारम्भिक सूचना अनुसार उक्त भूकम्प निकै शक्तिशाली रहेकोले ठूलो क्षतिको अनुमान गरिएको छ । त्यसैगरी उद्वारका लागि पनि ठूलो सङ्ख्याका सुरक्षाकर्मी खटाइसकेका मेक्सिकोको गृह मन्त्रालयले जानकारी दिएको छ । 

 सुनामीको खतरा, सामुद्रिक क्षेत्र वरपर सतर्कता 

यसैबीच उक्त भूकम्पका कारण सुनामी आउनसक्ने चेतावानी दिइएकोले समुद्री क्षेत्रहरुमा सतर्कता अपनाइएको छ । 

भूकम्प लगत्तै मेक्सिको, ग्वाटेमाला, एल साल्भाडोर, कोस्टारिका, निकारागुवा, पानामा र होन्डुरसमा सुनामीको चेतावनी दिइएको बीबीसीले जनाएको छ । समुद्री सतहका बस्तीहरु खाली गर्ने क्रम सुरु भएको छ । भूकम्प शक्तिशाली भएकोले सामुद्रिक किनारवरिपरी निकै नै खतरा रहेको सूचना सार्वजनिक रुपमा जारी गरिएको छ ।

भूकम्पको समयमा समुद्रको छाल नियमितभन्दा कम्तीमा पनि तीन मिटरसम्म परसम्म पुगेको थियो । आगामी १२ घन्टासम्म सुनामीको खतरा रहेको मौसमविदहरुले जनाएका छन् ।  

सन् १९८५ को भूकम्पको केन्द्रविन्दु मेक्सिको सिटी नजिकै रहेको थियो र त्यसका कारण हजारौंले ज्यान गुमाएका थिए । पछिल्लो भूकम्पलाई तीस वर्ष यताकै सबैभन्दा शक्तिशाली भनिएको छ । पछिल्लो भूकम्पसँगै कम्तीमा ४ वटा ५ दशमलव २ देखि ५ दशमलव ७ मेग्निच्युडका चारवटा परकम्प महसुस गरिएको जनाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!