कतारमा नाकाबन्दी तोड्न १३ बुँदे माग (यस्ता छन् मुख्य माग)

Posted on: 09 Sep, 2017

भदौ २४, रियाद/दोहा | साउदी अरब र कतारका नेताहरुले शुक्रबार कूटनीतिक समस्या समाधानका बारेमा टेलिफोनमा कुराकानी गर्नुभएको छ । 

यो कुराकानीसँगै उनीहरुबीचको सम्बादहिनता टुटेको छ भने टेलिफोनवार्ता सौहार्दपूर्ण भएको छ । कतारका राजा शेख तामिम बिन हमाद अल थानीले गरेको फोन अरबका राजकुमार मोहम्मद बिन सलमानले उठाउनु भएको साउदी अरबका सरकारी सञ्चार माध्यमहरुले जनाएका छन । 

कतारी राजा हमाद अल थानीले तीन महिनादेखिको नाकाबन्दी सहितको तनावपूर्ण समस्यालाई वार्ताको माध्यमबाट अन्त्य गर्न आग्रह गर्नुभएको थियो । टेलिफोन कुराकानीका क्रममा कतारका राजाले आफ्नो देशलाई नाकाबन्दी गराएका देशहरुसँग आफू वार्ता गर्न चाहेको बताउनु भएको थियो । 

उहाँले साउदी अरब नेतृत्वका खाडी क्षेत्रका चार राष्ट्रसहित सरोकारबालाहरुको सर्वोत्तम हितलाई ध्यानमा राखेर समाधान निकाल्नु पर्नेमा जोड दिनु भएको समाचार संस्थाहरुले जनाएका छन् । 

साउदी अरब, बहराईन, इजिप्ट र युनाईटेड अरब इमिरेट्स् (युएइ)ले गत जुन ५ देखि कतारमाथी कूटनीतिक समस्या सृजना गर्दै नाकाबन्दी गरेका छन । 

कतारले आतङ्कवादी र अतिवादीहरुलाई सहयोग गरेको, उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कुटनीतिक सम्बन्ध बलियो बनाउदै लगेको लगायतका आरोप नाकाबन्दी गर्ने देशहरुले लगाएका छन । तर उनीहरुको आरोपलाई कतारले भने पुरै अस्विकार गरेको छ । 

नाकाबन्दी तोड्न १३ बुँदे माग

नाकाबन्दी लगाएका देशहरुले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका छन । ती माग मध्ये इरानसँगको सम्बन्ध तोड्नु पर्ने र कतारमा रहेका टर्कीका सेनाहरु फिर्ता पठाउनु पर्ने लगायतका मागहरु मुख्य रहेका छन् । 

जे भएपनि समस्या समाधानका लागि छलफल तथा पहल गर्न साउदी अरबका राजकुमार मोहम्मदले विषेश प्रतिनिधि पठाउने प्रस्तावलाई कतारका राजा सेख तामिमले स्वागत गर्नुभएको कतारको सरकारी समाचार संस्थाले जनाएको छ । 

कतारी राजा हमाद अल थानीले यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि टेलिफोन कुराकानी गर्नुु भएको थियो । 

कुनै पनि देशको सार्वभौमिकतालाई असर नपार्ने गरी रचनात्मक वार्तामार्फत समस्याको समाधान गर्न सकिने कतारी राजाको भनाइ थियो । 

कतारी राजा हमाद अल थानीले कुवेतको प्रयासमा अमेरिकाले आफ्नो अडान परिवर्तन गरी वार्तामार्फत समस्या समाधानका लागि प्रयास गर्नुपर्ने बताउनुभएको थियो । 

साउदी अरबको नेतृत्वमा साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएइ), बहराइन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका छन । उनीहरूले जमिन, समुद्र हवाइ सम्पर्कसमेत बन्द गरेका छन । रासस/सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!