७.१ रेक्टरको शक्तिशाली भूकम्प, १३० को मृत्यु

Posted on: 20 Sep, 2017

असोज ४, मेक्सिको । मध्य मेक्सिकोमा ठूलो भूइँचालो आउँदा कम्तीमा १ सय ३० जनाको ज्यान गएको छ । भूकम्पबाट राजधानी मेक्सिको सिटीमा दर्जनौं घरहरु भत्किएका अन्तराष्ट्रिय संचारमध्यमले जनाएका छन् । 


उद्दारकर्ताहरुले भग्नावशेषमा पुरिएका हुनसक्ने जीवितहरुको खोजी गरिरहेका छन् । उनीहरुले मृत्यु हुनेको संख्या बढ्ने बताएका छन् । ७.१ म्याग्नीच्यूडको भूकम्पले मोरेलोस, प्युब्ला र मेक्सिको राज्यमा क्षति पुर्याएको हो ।

३२ वर्ष अघि आएको ठूलो भूकम्पले हजारौं मारिएको वार्षिकोत्सवका दिन थुप्रै मानिसहरु भूकम्प आउँदा बच्ने उपायको पूर्वाभ्यास गरिरहेका बेला भूकम्प गएको थियो । मेक्सिको सिटीको विमानस्थल केही समयका लागि बन्द गरिएको थियो र शहरभरका घरहरु खाली गराइएका थिए ।

मेक्सिको भूकम्पको खतरामा रहेको मुलुक हो । यो महिनाको शुरुमा दक्षिणतिर ८.१ म्याग्नीच्यूडको भूकम्प आउँदा नब्बेजना मारिएका थिए । सबभन्दा पछिल्लो भूकम्पको केन्द्रबिन्दु मेक्सिको सिटीबाट १२० किलोमिटर टाढाको प्युब्ला राज्यको एटेन्सिङ्गो रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!