उत्तर कोरियाले दियो अर्को खतरनाक धम्की, अब के हुन्छ ?

Posted on: 22 Sep, 2017

असोज ६, सोल । उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ । 

उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र उत्तर कोरियालाई ध्वस्त गर्ने धम्की दिनुभएको थियो । उत्तर कोरियाले यसअघि पनि बारम्बार आणविक परीक्षण गरिरहेकोले त्यसका विरुद्धमा राष्ट्रपति ट्रम्पले सो धम्की दिनुभएको थियो । 

यता अमेरिकाले दिएको सो धम्कीको विरुद्धमा उत्तर कोरियाले पुनः अर्को आणविक परीक्षण गर्ने र सो परीक्षण हाइड्रोजन बम मिश्रित परीक्षण हुने जनाइएको छ । 

उत्तर कोरियाका विदेशमन्त्री रि योङ हुले उत्तर कोरियाली नेताले पुनः यस्तो परीक्षणका लागि आदेश गर्नुभएको र सो आदेश अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाका विरुद्धमा दिएको अभिव्यक्तिका विरुद्धमा भएको जानकारी दिनुभएको हो । 

अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रमा सो अभिव्यक्ति दिनुभएको थियो । उहाँले उत्तर कोरियामाथिको कारबाही सैन्य बाहेक अर्काे नरहेको र यसबाट उक्त देश ध्वस्त हुने बताउनुभएको थियो । 


शुक्रबार न्युयोर्कमा सम्वाददाताहरुसँग उत्तर कोरियाली विदेशमन्त्री रिले उत्तर कोरियाले अर्को र यसअघिको भन्दा अझ शक्तिशाली आणविक परीक्षण गर्ने र सो परीक्षण क्षेप्यास्त्रमा राख्न मिल्ने किसीमको हाइड्रोजन बम हुने बताउनुभयो । 

उहाँको भनाई थियो– मलाई लाग्छ सो परीक्षण अहिलेसम्मकै सबैभन्दा शक्तिशाली हुनेछ र उक्त परीक्षण प्रशान्त क्षेत्रलाई लक्षित गरेर गरिनेछ । विदेशमन्त्री रिले भन्नुभयो– हाम्रो नेता किम जोङ उनको योजना बमोजिम यो परीक्षण हुनेछ र मैले भनेभन्दा अझै ठूलो र शक्तिशाली पनि यो हुन सक्नेछ । त्तर कोरियाका नेता किम जोङ उनले यस्तो खालको हतियार निर्माणस्थलको निरीक्षण गरेको जानकारी हालैमात्र बाहिर आएको थियो । 

पश्चिमा देशहरूले यस्तो खालको ब्यालेस्टिक क्षेप्यास्त्रमा प्रयोग गर्न मिल्नेगरी उत्तर कोरियाले परमाणुसँग सम्बन्धित उपकरणहरू निर्माण गर्नसक्ने गरी प्रविधिको विकास गर्ने बारेमा आशङ्का व्यक्त गर्दै आएका थिए । तर अहिले सो अशङ्काका बारेमा केही भन्ने गरिएको छैन । 

उत्तर कोरियाले यही सेप्टेम्बर ३ मा पनि यस्तै हाइड्रोजन बम मिश्रित परीक्षण गरेको थियो । आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले हालै जानकारी दिएको थियो । उत्तर कोरियाले गत बर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको जानकारी पनि सो अवसरमा दिइएको थियो । 

उक्त हाइड्रोजन बमको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बम भन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ । उत्तर कोरियाले सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षण गरेको कुरा प्रमाणित पनि भइसकेको छ । यस हाइड्रोजन बम सफल परीक्षण गरेको समाचार समितिमार्फत उत्तर कोरियाले सम्प्रेषण गरेको थियो । 

त्यस समय उत्तरले गरेको सो परीक्षणले झण्डै छ म्याग्निच्युडको भूकम्प नै ल्याइदिएको बताइएको थियो । अब यसपछि गर्ने भनिएको आगामी परीक्षण उत्तरका विदेशमन्त्रीले जानकारी दिएअनुसार अहिलेसम्मकै शक्तिशाली हुने भएकोले यसको खतराको बारेमा मापन गर्ने काम सुरु भएको छ । 

उक्त परीक्षण प्यासिफिक क्षेत्रमा गरिने जानकारी पनि उत्तर कोरियाली विदेशमन्त्री रिले दिनुभएको न्युयोर्कबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ । रासस/एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!