अमेरिका र कोरियाका उच्च आणविक अधिकारीबीच भेटवार्ता

Posted on: 17 Nov, 2017

मङ्सिर १, सोल । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका उच्च आणविक अधिकारीबीच शुक्रबार भेटवार्ता भएको समाचार छ । 

दक्षिण कोरियाको राजधानी सोलमा भएको सो भेटमा उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक हतियारको प्रदर्शन र यसका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न समस्याका विषयमा कुराकानी भएको थियो । 

दक्षिण कोरियाको विदेशमन्त्रालयले जनाएअनुसार कोरियाली प्रायद्वीपका विषयमा दक्षिण कोरियाका विशेष दूत लि दु हुन र उक्त क्षेत्रका लागि अमेरिकी विशेष दूत जोसेफ युनबीच सो भेटवार्ता भएको छ । 

दक्षिण कोरियाको दक्षिणी एक प्रसिद्ध रिसोर्ट जिउ आइल्याण्डमा जारी रहेको संयुक्त राष्ट्रसंघीय आणविक अप्रसार सन्धीका विषयमा जारी सम्मेलनकै क्रममा भेटवार्ता भएको पनि प्राप्त समाचारमा जनाइएको छ । 

कोरियाली प्रायद्वीपमा जारी पछिल्लो समयको तनाव र उत्तर कोरियाको आणविक कार्यक्रमका विषयलाई लिएर हालै विश्वका विभिन्न छ शक्ति राष्ट्रका प्रतिनिधि सम्मिलित एक समिति बनेको छ । 

सोही समितिका तर्फबाट उहाँहरुको यो भेटवार्ता भएको सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।  रासस/सिन्ह्वा

यस बिषयमा तपाइको प्रतिक्रिया...!