भ्रष्टाचारको समाचार लेखेका कारण पत्रकारको हत्या: सम्पादक

Posted on: 25 Nov, 2017

मंसिर ९, भारत । भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा यसै हप्ता मारिएका भारतीय पत्रकारको हत्या भ्रष्टाचारको समाचार लेखेको कारणले भएको बताइएको छ । 

ती पत्रकारलाई भारतीय अर्धसैन्य बलका जवानले गोली हानी हत्या गरेका थिए । उनलाई र हत्या गर्ने आदेश दिने अर्का सैनिक अधिकारीलाई भने प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको छ । 

यहाँको एक दैनिक पत्रिकाका एकजना वरिष्ठ समाचारदाता ४८ वर्षीय सुदिप दत्त भौमिकको हत्या गरिनुको पछाडि उनले ती सैन्य अधिकारीले गरेको भ्रष्टाचारको समाचार लेख्नु मुख्य कारण रहेको त्यस पत्रिकाका सम्पादकले भनेका छन् । 

भारतीय पत्रिका सिन्दन दैनिकका सम्पादकले सो कुरा शुक्रबार सार्वजनिक गरेका हुन् । उक्त बङ्गाली भाषाको पत्रिकाले ती सैनिक अधिकारीले सो कार्यालयमा गरेको भ्रष्टाचारसम्बन्धी समाचार छापेका थिए । 

त्यस दिन पनि उनी त्यसैसम्बन्धी थप समाचार लिनका लागि त्रिपुरास्थित त्यस कार्यालयमा पुगेका थिए । त्यसै समयमा उनको हत्या भएको हो । त्रिपुरा राज्यको अर्ध सैन्यबलको मुख्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला कार्यालयका अर्धसैन्य बलका प्रमुख अधिकारी सैनिक कमाण्डेन्ट अफिसर तपन देव बर्माले आफ्ना अङ्गरक्षकलाई नै ती पत्रकारलाई गोली हान्ने आदेश दिएका पछि खुलेको थियो । पत्रिकाका सम्पादक एवम् प्रकाशक सुबल कुमा देइले भने, भौमिकले गरेको खोजीका आधारमा हामीले पत्रिकामा समाचार छापेका थियौँ र त्यस दिन पनि उनैले बोलाएर त्यस समाचारका लागि गएका थिए । समाचार लेखेका आधारमा उनको हत्या भएको हो, यसबाहेक अर्को कुनै कारण छैन, उनले भने । 

ती पत्रकारको हत्या मंगलबार भएको हो । उनका अङ्गरक्षकलाई बुधबार नै पक्राउ गरिएको थियो । उनकै बयानका आधारमा सैनिक अधिकारी बर्मालाई बिहीबार पक्राउ गरिएको हो । हाल ती अधिकारी प्रहरी थुनामै छन् । 

सम्पादक सुबल कुमारले त्यस प्रहरी मुख्यालयका अधिकारीको औपचारिक अनुमति मात्र नभएर समय लिएर नै त्यस कार्यालयमा पुगेको बताएका छन् । तर पछि उनको हत्या भयो भन्ने सुनेपछि हामी आश्चर्यमा परेका थियौँ, उनले भने । ती अधिकारीले भौमिकलाई त्यहाँ बोलाएर आफ्ना अङ्गरक्षकलाई गोली हान्न लगाएको पछि पत्ता लागेको हो । यस विषयमा ती अधिकारीको भने कुनै प्रतिक्रिया आएको छैन । 

भारतमा दुई महिनामात्र अघि एक आन्दोलनको समाचार सङ्कलनका क्रममा आन्दोलनकारीले टिभी पत्रकारको त्रिपुरामा नै हत्या गरिएको थियो । त्यसको महिनादिनमात्र अघि पनि एकजना महिला सम्पादकको हत्या भएको थियो । उनको हत्या भने आफ्नै घरको भान्सा कोठामा भएको थियो । भारतमा पछिल्लो समयमा पत्रकार हत्याका घटनामा बृद्धि भइरहेको पाइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!