बेलायतका राजकुमार ह्यारीले अमेरिकी अभिनेत्रीसँग विवाह गर्दै

Posted on: 27 Nov, 2017

मंसिर ११, लन्डन । बेलायतका राजकुमार ह्यारीले अमेरिकी कलाकार प्रेमिका मेघन मर्केलसँग विवाह गर्ने पक्का भएको छ ।

राज सिंहासनका उत्तराधिकारीको पाँचौं वरियताका ह्यारीले आगामी वसन्तमा मर्केलसँग विवाह गरी लन्डनस्थित केन्सिङ्टन दरबारको नटिंघम कटेजमा भित्र्याउने पक्का भएको हो । राजकुमार ह्यारी र अभिनेत्री मर्केल वर्षदिनदेखि डेटिङमा थिए । र, नोभेम्बर पहिलो साता उनीहरु बीच ‘इंगेजमेन्ट’ भएको थियो ।

विवाह घोषणा गर्दै राजकुमार ह्यारीले प्रकाशित गरेको विज्ञप्तिमा आफू यसबारे सार्वजनिक जानकारी गराउन पाउँदा प्रसन्न रहेको र मर्केलका मातापिताबाट आशिर्वाद पाएको उल्लेख छ ।

राजदरबारमा भएको ‘इंगेजमेन्ट’मा महारानी एलिजाबेथ र परिवारका सदस्य मात्र उपस्थित थिए । क्लारेन्स हाउसद्वारा जारी गरिएको त्यससम्बन्धि घोषणामा विवाहको तिथि यकिन हुने क्रममा रहेको उल्लेख छ ।


विवाहपछि मर्केल ‘हिज रोयल हाइनेस’ र राजपरिवारकी वरिष्ठ सदस्य बन्नेछिन् । महारानी एलिजाबेथ र उनका पति ‘डुक अफ एडिनबरा’ले उनीहरुलाई आशिर्वाद दिँदै सुखद दाम्पत्य जीवनको कामना गरेका छन् ।

उनीहरु राजकुमार ह्यारीका हजुरबा–आमा हुन् । मर्केलका मातापिता थोमस र डोरियाले ‘अभूतपूर्व खुशी’ मिलेको प्रतिक्रिया दिएका छन् । ह्यारी र मर्केलको जोडी गत सेप्टेम्बरमा पहिलो पटक सार्वजनिक भएको थियो । स्रोत: बीबीसी

          

यस बिषयमा तपाइको प्रतिक्रिया...!