साउदी सरकारको यो नयाँ नियमको सर्बत्र स्वागत

Posted on: 21 Dec, 2017

पुस ६, रियाद  । साउदी अरबको सरकारले यहाँका महिलालाई सवारी चालन अनुमति दिएको निर्णयको यहाँका महिलाले स्वागत गरेका छन् । 

साउदी अरेबियाको ट्राफिक कार्यालयले साउदी महिलाहरुलाई पनि सवारी साधन हाँक्न पाउने सवारी अनुमतिपत्र दिने निर्णय हालैमात्र गरेको थियो । 

विशेषगरी उनीहरुलाई यसअघि नभएको ट्रक र मोटरसाईकल चलाउनेसम्बन्धी व्यवस्थालाई यस सरकारले अनुमति प्रदान गरेको छ । उक्त निर्णयको यहाँका महिला अधिकारवादीहरुले स्वागत गरेका बताइएको छ । 

सरकारले सो नियम गतवर्ष मात्र बनाएको थियो । यसरी सवारी सञ्चालन गर्न पाउने अधिकारको प्रचलन औपचारिक रुपमा सन् २०१८ को मध्यतिरबाट सुरुहुने बताइएको छ । 

साउदी अरबका अखबारहरुले यहाँका महिलाले सरकारको उक्त निर्णयको स्वागत गरेका जनाएका छन् । साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनका आधारमा गत हप्तामात्र यो निर्णय भएको हो । 

साउदी अरेबियाका महिलाहरुलाई यसअघि सवारी साधान चलाउन नपाइने व्यवस्था थियो । अब यो नयाँ निर्णयपछि भने यहाँका महिला खुसी भएको बताइएको छ । 

साउदी अरबमा अधिकारवादीहरु तथा विशेष गरेर महिला अधिकारकर्मीले यहाँका पुरुषले सरह नै महिला पनि सवारी चालक बन्न पाउनुपर्ने मागगर्दै विगत लामो समयदेखि सरकारलाई दबाब दिँदै आएका थिए । 

अरु देशहरुका तुलनामा मुस्लिम देशका महिलामा बढी सांस्कृतिक जटिलताहरु रहेको पाइन्छ । त्यसैले यहाँका महिलालाई अन्य मुलुकका तुलनामा पछिमात्र राजनीतिक अधिकार दिइएको हो । रासस/सिन्ह्वा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!