दक्षिण कोरियाको यस्तो प्रस्ताव उत्तर कोरियाले किन गर्यो स्वीकार ?

Posted on: 05 Jan, 2018

पुस २१, सोल । उत्तर कोरियाले दक्षिण कोरियाले राखेको वार्ताको प्रस्ताव स्वीकार गरेको समाचार छ । 

दक्षिण कोरियाले हालैमात्र उत्तरसँग अन्तर सरकारी स्तरमा उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो । सो प्रस्ताव उत्तरले स्वीकार गरेको खबर पठाएको दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले जानकारी दिएको छ । 

उक्त मन्त्रालयका प्रवक्ता वाइता हानले सोलमा शुक्रबार आयोजित पत्रकार सम्मेलमा दिएको जानकारीअनुसार दक्षिण कोरियाले पठाएको उच्चस्तरीय वार्ताको प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेको खबर पठाएको छ । 

सो वार्ता यही जनवरी ९ मा गर्नेगरी तय गरिएको छ । सो वार्ता दक्षिण कोरियाको नियन्त्रणमा रहेको पानामजुमस्थित शान्तिगृह ‘पिस हाउस’ मा आयोजना गरिएको छ । 


सो वार्ताको प्रस्ताव करिब महिनादिनअघि नै दक्षिण कोरियाले गरेको थियो । यसअघि दक्षिण कोरियाले आयोजना गरेको ग्रीश्मकालीन ओलम्पिक खेलमा पनि सहभागिताका लागि उत्तरले सहमति जनाएको थियो । 

आगामी जनवरी ९ मा हुने सो उच्चस्तरीय वार्ताले आगामी दिनमा यी दुई देशको सम्बन्ध सुधारमा सहयोग पुग्ने बताइएको छ । 

साथै सो वार्ताका क्रममा दक्षिण कोरियामा हुन लागेको उक्त खेलकुदका विषयमा पनि कुराकानी हुने बताइएको छ । हुनत यसअघि नै दक्षिण कोरियाली राष्ट्रपति इनले नै उक्त खेलकुदको तयारीका लागि सम्बद्ध पक्षलाई निर्देशन दिइसकेको बताइएको थियो । 

उता उत्तर र दक्षिण कोरियाबीच पछिल्लो समयमा सुरुवाता गरिएको हटलाइन टेलिफोन सेवाको पुनः सुरुवातप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि स्वागत गर्नुभएको थियो । 

उत्तर कोरियाली नेता किम जोङ उनको आदेशमा दुई बर्ष अघि बन्द गरिएको उक्त सेवा बुधबार अपराह्नबाट पुनः सुरु भएको समाचारमा जनाइएको छ । सो कार्यको महासचिव गुथ्रेसले स्वागत गर्नुभएको हो । 

पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा सुधार आएको छ । यस अघि नै दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गर्नुभएको थियो । 

नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली नेता उनले मङ्गलबार राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा दक्षिण कोरियाले प्रस्ताव गरेको वार्तामा सहभागी हुनसक्ने धारणा सार्वजनिक गर्नुभएको थियो । 

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तरका नेताले सहभागिता जनाउने भएपछि सो खेलकुदका साथै उक्त उच्चस्तरीय वार्ताको लागि पनि तयारी गर्न सरकारी निकायहरुलाई निर्देशन दिनुभएको एक समाचारमा जनाइएको छ । 

सो वार्ताको प्रस्तावमा उत्तरले केही बोलेको थिएन । तर उत्तर कोरियाली नेताले गरेको पछिल्लो सम्बोधनमा वार्तामा बस्ने सङ्केत गरेपछि सुरुभएको सकारात्मक पहलहरु अब उच्चस्तरी वार्तामा बस्नेसम्म पुगेको छ । 

यसैबीच सोलबाट शुक्रबार प्राप्त अर्काे एक समाचारमा दक्षिण कोरियाली राष्ट्रपतिले वार्ताको तयारी गर्न अधिकारीहरुलाई निर्देशन दिनुभएको बताइएको छ । रासस/सिन्ह्वा

यस बिषयमा तपाइको प्रतिक्रिया...!