साउदी अरेबियाका राजकुमार थुनामुक्त

Posted on: 28 Jan, 2018

माघ १४, रियाद (रासस/एएफपी) | भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको समाचार छ । 

गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले सुरु गरेको भ्रष्टाचारीहरुको कारबाहीको क्रममा पक्राउ गरिएका अर्बपति राजकुमार अलवालीद बिन तलाल थुनामुक्त भएको समाचारमा जनाइएको छ । 

अर्बपति राजकुमार तलालका साथै अरु पनि त्यस समयमा पक्राउ परेका केही शक्तिशाली व्यक्तिहरू थुनामुक्त भइरहेका खबरहरु प्राप्त भएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ । 

गएका केही हप्तायतादेखि उनीहरुमाथिका अभियोगको छानबीन गरी कतिपयलाई थुनामुक्त गरिएको बताइएको छ । भ्रष्टाचारको अभियोगपछि थुनामुक्त हुने पछिल्लो शक्तिशाली व्यक्तिमा राजकुमार तलाल रहनुभएको हो । 

उहाँलाई राजधानी रियादको एक सुविधासम्पन्न होटलमा थुनामा राखिएको थियो । पछि उहाँमाथिको अभियोग प्रमाणित नभएको भनेर मुक्त गरिएको बताइएको छ । 

उहाँले आफूविरुद्ध कुनै अभियोग नलगाइएको बताउँदै आउनुभएको थियो । थुनामुक्त भएपछि पनि उहाँले भ्रष्टाचारविरोधी कारबाही सुरु गरेका युवराज मोहमद बिन सलमानको कदमको आफूले समर्थन गर्ने बताउनुभएको छ । 

राजकुमार तलाल साउदी अरेबियाका सबैभन्दा धनाढ्य बर्गका व्यक्तिहरुमा पर्दछन् । युवराज मोहमदले आफू सत्तामा आएपछि शक्ति सुदृढ गर्नका लागि आफ्ना विरोधीहरुलाई तह लगाउन सो भ्रष्टाचार विरोधी कारबाही अभियान चलाएका आरोप लगाइएको थियो । 

राजकुमार तलालजस्तै अरु पनि केही संभ्रान्तहरु जेलबाट छुटेको बताइएको छ । कतिपय व्यक्तिहरुको आरोप प्रमाणित नभएको त कतिपय धरौटीमा छुटेको पनि बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!