पाकिस्तानमा शक्तिशाली भूकम्प

Posted on: 31 Jan, 2018

माघ १७, इस्लामाबाद (रासस/सिन्ह्वा) | पाकिस्तानका विभिन्न भाग प्रभावित हुने गरी बुधबार शक्तिशाली भूकम्प गएको छ । यस भूकम्प ६.२ म्याग्निच्युडको मापन गरिएको पाकिस्तानको राष्ट्रिय भूगर्भ विभागले जनाएको छ । 

यस भूकम्पमा परी एक बालकको मृत्यु भएको र अन्य नौ जना घाइते भएका सो विभागले जानकारी दिएको छ । 

पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलोचिस्तानको लसबेला जिल्लाको बेला शहरमा माटोबाट बनेका दुई वटा घर भत्किएपछि यसमा परी एक बालकको मृत्यु हुनुका साथै अन्य नौ घाइते भएका हुन् । भूकम्प प्रभावित इलाकामा उद्धारकर्ताको समूह परिचालन गरिएको छ । 

लसबेला जिल्लाका अस्पतालहरुमा राज्य सङ्कटको समेत घोषणा गरिएको छ । राजधानी इस्लामाबादबाट दक्षिणपश्चिममा पर्ने बलोचिस्तान प्रान्तको विभिन्न भागलगायत खैबर पाख्तुनख्वा र पूर्वी पञ्जाव पनि यस भूकम्पबाट प्रभावित भएको बताइएको छ । 


स्थानीय समयानुसार बुधबार मध्याह्न १२ः७ बजे सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको हिन्दू कुश क्षेत्रमा १६९ किलोमिटर गहिराईमा रहेको जनाइएको छ । पाकिस्तान बारम्बार भूकम्पको प्रकोपले सताउने देशको रुपमा पर्दछ । 

सन् २०१५ को अक्टोबरमा गएको ७.५ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा २८० व्यक्तिको मृत्यु हुनुका साथै अन्य १९ सय व्यक्ति घाइते भएका थिए ।  

सन् २००५ को अक्टोबरमा नै ७.४ म्यानिच्युडको भूकम्पमा परी ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!