उत्तर कोरियाको यो निर्णयले दक्षिण र उत्तर कोरियाबिचको तनाब साम्य होला ?

Posted on: 05 Feb, 2018

माघ २२, सोल । उत्तर कोरियाले यसै हप्ताको अन्त्यतिर दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा आफ्नो सरकारका उच्च तहका अधिकारीलाई पठाउने भएको समाचार छ । 

यस शीतकालीन ओलिम्पिक खेलकूदका क्रममा दुई देशबीचको सम्बन्धमा केही सुधार आइरहेको र विगतको तनाव पनि केही हदसम्म कम हुँदै गएका बेला यसरी उत्तर कोरियाले आफ्ना उच्च अधिकारीलाई त्यहाँ पठाउन लागेको हो । 

उत्तर कोरियाले यहाँको संसदका प्रमुख किम यङ–नामलाई उत्तर कोरियाली प्रमुख प्रतिनिधिका रुपमा त्यहाँ पठाउन लागेको हो । उत्तर कोरियाली संसदका प्रमुख नाम विगत चार वर्षमा दक्षिण कोरियाको भ्रमणगर्ने सबैभन्दा उच्च पदस्थ उत्तर कोरियाली सरकारी अधिकारी हुनुहुने बताइएको छ । 


दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लू हाउसका एक अधिकारीले नामको यस आसन्न भ्रमणले दुई कोरियाबीचको तनाव अन्त्य गर्ने उत्तर कोरियाली चाहना र उसको इमानदारीलाई दर्शाएको जानकारी दिएका छन् 

उत्तर कोरियाली यी उच्चस्तरीय अधिकारी नामले २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्वगर्ने दक्षिण कोरियाली एकता मन्त्रालयले जनाएको छ । सो मन्त्रालयले उहाँको भ्रमणको पुष्टी गरेको बताइएको छ । 

किम यङ–नामको नेतृत्वको उक्त टोलीमा अन्य तीनजना उच्च सरकारी अधिकारी र १८ जना सहयोगी कर्मचारी संलग्न हुने कुराको जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको छ । 

उक्त प्रतिनिधिमण्डलको भ्रमण शुक्रवारदेखि सुरु भई आइतबार सम्पन्न हुनेछ । उनीहरूले दक्षिण कोरियाको भ्रमण थाल्ने कुराको जानकारी उत्तर कोरियाको सरकारी निकायले आफैले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । 

तर पनि उसले दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयलाई आइतबार राति जानकारी दिएको दक्षिण कोरियाको एकता मन्त्रालयका एकजना अधिकारीले बताएका छन् । 

त्यसैगरी यस अघि नै शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा दुई कोरियाका खेलाडीहरूले पनि एउटै झण्डामुनि ’मार्च’ गर्नेछन् । त्यस्तै निकै लामो समयपछि हालैमात्र उत्तर कोरियाली झण्डा दक्षिण कोरियामा फहराइएको छ । 

उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रिय रुपमा आलोचना भएको छ । उसले बिगत लामो समयदेखि नै दवाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ । 

यसैबीच दुवै कोरियाका तर्फबाट महिलातर्फको संयुक्त आइस हकी खेलको टोलीले पहिलो खेल आइतवार मात्र खेलेको थियो । स्वीडेनसँगको मैत्रीपूर्ण खेलमा उक्त टोली पराजित भएको थियो । रासस/सिन्ह्वा


यस बिषयमा तपाइको प्रतिक्रिया...!