भारतीय चालक दलका सदस्यसहित हराइरहेको पानीजहाज अपहरणमुक्त

Posted on: 06 Feb, 2018

माघ २३, नयाँ दिल्ली । पश्चिम अफ्रिकामा २२ जना भारतीय चालक दलका सदस्यसहित अपहरणमा परेको पानीजहाज मुक्त भएको भारतीय अधिकारीहरुले जनाएका छन्। 


सो जहाजमा १३ हजार ५ सय टन पेट्रोल रहेको बताइएको थियो। उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिन्को कोतोनोउ सहर क्षेत्रको समुद्रबाट गत बिहीबारदेखि हराएको र पछि अपहरणमा परेको आशङ्का गरिएको थियो। 

भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविस कुमारले भारतले नाइजेरियामार्फत बेनिनमा सम्पर्क गरिरहेको जानकारी दिएका थिए। बिहीबारबाट सम्पर्कविहीन भएको सो जहाज सामुद्रिक डाँकुको कब्जामा रहेको पछि पत्ता लागेको थियो। 

उनीहरुले मङ्गलबार जहाज मुक्त गरिदिएको बताएपछि सो जहाज र यसका सबै सदस्यहरु जहाजको मुख्य चालकको नियन्त्रणमा आइसकेको बताइएको छ। 

अपहरणमुक्त जहाज र यसका सबै सदस्यहरु अहिले सकुशल रहेका अधिकारीहरुले जनाएका छन्। रासस/एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!