सिरियामा लडाईं जारी, युद्धविराममा सहमति बनेन

Posted on: 23 Feb, 2018

फागुन ११, संयुक्त राष्ट्रसंघ । सिरियामा पछिल्लो समयमा हिंसा झन बढेपछि त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न प्रयास भएको छ, तर सम्भव भने हुन नसकेको बताइएको छ । 

पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा आक्रमण गरेको छ । सो आक्रमणमा परी सयाँै सर्वसाधारण मारिएका छन् । 


सिरियाली द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीहरुले बताएअनुसार सो क्षेत्रमा यसै महिनाको सुरुदेखि नै सिरियाली सेनाको अगुवाईमा रहेका सुरक्षाकर्मीहरुले हवाई र स्थलगत कारबाही गरेका छन् । 

जसका कारण यहाँका ३०० जना भन्दा बढी सर्वसाधारण मारिएका छन् । नागरिक हत्याको अवस्था अत्यन्तै क्रुर र नाजुक भएकोले सिरियामा केही समयका लागि मात्र भए पनि युद्धविरामको प्रयास संयुक्त राष्ट्रसंघले गरेको हो । 

मानवअधिकारबादीहरुले मानवीय सहायता पु¥याउनका लागि यहाँ युद्धविराम गर्नुपर्ने प्रस्ताव गरेका बताइएको थियो । सोही बमोजिम संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा उक्त प्रस्तावमा छलफल भएको थियो । 

सो छलफलमा सहमति भने हुन नसकेको रूसले बताएको छ । सुरक्षा परिषदमा रुसले पनि सिरियामा युद्धविरामको लागि प्रस्ताव गरेको थियो । यस विषयमा बिहीबार पनि छलफल भएको हो । 

संयुक्त राष्ट्रसंघका लागि रूसी राजदूत भसिली नबेन्जियाले राष्ट्रसंघीय सुरक्षा परिषदमा रुसले उक्त प्रस्तावमा संशोधन प्रस्तुत गरेको भए पनि युद्धविरामका लागि भने प्रस्ताव नै गरेको जानकारी दिनुभएको थियो । 

सिरियाको पूर्वी क्षेत्र गुटास्थित केही भाग विद्रोहीको घेराबन्दीमा रहेको बताइएको छ । सो क्षेत्रमा पछिल्लो समयमा बमबारीका घटना बढेका छन् । सोही कारण त्यहाँ युद्धविराम गर्नुपर्ने आवाज उठेको हो । 

प्राप्त समाचारहरुका अनुसार घेराबन्दीमा रहेको क्षेत्रको अवस्था निकै दयनीय रहेको र त्यहाँ खाद्यान्न, पानी, विजुली तथा अन्य आधारभूत आवश्यकताको पनि ठूलो अभाव रहेको बताइएको छ । 

अधिकारवादीहरुको प्रस्तावमा देशव्यापी रूपमा सिरियामा एक महिनाका लागि युद्धविराम गर्ने गरी मस्यौदा प्रस्ताव अघि सारिएको थियो । उक्त प्रस्ताव छलफलमा नै छ र अहिलेसम्म त्यसमा सहमति जुट्न सकेको छैन । 

सन् २०१३ यता सिरियाली सेनाले विद्रोहीको घेराबन्दीमा रहेको भनिएको पूर्वी गुटामा करिब चार लाख मानिसको बसोबास रहेको छ । 

त्यस क्षेत्रमा हाल आएर सिरियाली सेनाको नेतृत्वमा रहेको सुरक्षा निकायले व्यापक मात्रामा बमबारी र स्थलगत कारबाही थालेकोमा यस्तो प्रकारको कारबाही रोक्न संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ । 

सिरियाली राजधानी दमासकसको सबैभन्दा नजिकपर्ने क्षेत्रमा विद्रोहीहरूको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र नै गुटा हो । त्यस क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सिरियाली सुरक्षाबले आक्रमणको तयारी गरिरहेको बताइएको छ । 

सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै आन्दोलन सुरु भएको थियो । 

त्यहाँ हाल जारी गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्स बढ्दै गएका छन् । जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म ३ लाख ४० हजार भन्दा बढी व्यक्ति मारिएका छन । 

त्यसैगरी लाखौँ घाइते भएका छन् भने अरु लाखौँलाख नागरिक घरबारबिहीन भई स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य छन् । 

संयुक्त राष्ट्रसंघले सिरियामा शान्तिपूर्ण वार्ताको माध्यमबाट जारी हिंसात्मक गतिविधी रोक्ने प्रयास गरिरहेको भए पनि त्यो सम्भव हुन सकिरहेको छैन । रासस/एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!