उत्तर कोरियासँग कूटनीति विफल भए युद्धको तयारीमा अमेरिका

Posted on: 01 Mar, 2018

फागुन १७, काठमाडौं । उत्तर कोरिया र अमेरिकाको ट्रम्प प्रशासनबीच कूटनीतिक वार्ता चलिरहेको भएपनि गत साता गरिएको एक सैन्य अभ्यासले कोरियाली प्रायद्वीपमा सम्भावित युद्धको स्थितिमा अमेरिकी सैनिकहरू कसरी तैनाथ हुनेछन् र आक्रमण गर्नेछन् भनी परीक्षण गरेका छन् । 


टेबलटप अभ्यास भनी चिनिने युद्धको योजना हवाईमा कैयौं दिनदेखि बनिरहेको छ । अभ्यासमा सेनाप्रमुख जनरल मार्क ए मिल्ले र स्पेसल अपरेसन्स कमान्डका प्रमुख जनरल टोनी टमस पनि उपस्थित थिए । 

उत्तर कोरियाली सेनामाथि आक्रमण गर्दा अमेरिकाले बेहोर्नुपर्ने समस्या के हुन्छन् भनी उनीहरूले निरीक्षण गरेका थिए । कोरियाली प्रायद्वीपबाट दिनदिनै घाइते सैनिकहरूलाई हटाउने पेन्टागनको सीमित क्षमतामा पनि विचार गरियो ।

उत्तरले रासायनिक हतियारका साथ प्रतिकार गरेमा यो समस्या झन् डरलाग्दो हुनेछ, यस्ता अभ्यासका जानकार करीब एक दर्जन सैन्य तथा रक्षा विभागका अधिकारीहरूले बताए ।

स्थलसैनिकलाई सहायता गर्नका लागि पश्चिम एसिया र अफ्रिकाबाट ठूलो संख्यामा सर्वेलान्स विमानहरू ल्याउनुपर्ने हुन्छ । दक्षिण कोरिया र जापानमा रहेका अमेरिकी बलहरूलाई कसरी संलग्न गराउने भनी योजनाकारहरूले विचार गरे । 

योजना बनाएको भन्दैमा उत्तर कोरियाविरुद्ध युद्ध गर्ने निर्णय लिइसकेको भन्न नमिल्ने पेन्टागन अधिकारीहरूले चेतावनी दिए । राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई आणविक महत्त्वाकांक्षामा लगाम लगाउन माग गरेका छन् ।

द न्युयोर्क टाइम्सबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!