युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

Posted on: 04 Apr, 2018

चैत २१, संयुक्तराज्य अमेरिका (रासस÷एएफपी) | उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ । 

एकजना महिलाले त्यहाँ कार्यरत कर्मचारीमाथि अकस्मात गोली हान्न थालेपछि भागाभाग भएको थियो । त्यस गोलीकाण्डमा परी तीन जना गम्भीर रुपमा घाइते भएका छन् । 

युट्युबको सो मुख्यालयमा एकजना बन्दुकधारी व्यक्ति प्रवेश गरेको भन्ने थाहा पाएपछि सो कार्यालयमा प्रहरी पुगेको थियो । तर ती महिलाले प्रहरी आउनुभन्दा अगावै गोली हान्न थालेकी बताइएको छ । 

युट्युब मुख्यालयमा करिब एक हजार ७०० जना कर्मचारी कार्यरत छन् । कार्यालयभित्रै गोली चलेपछि उक्त कार्यालयका अधिकांश कर्मचारीहरुले हात माथि उठाएर कार्यालयबाट बाहिर निस्किँदै गरेका दृश्यहरु स्थानीय टेलिभिजनहरूले देखाएका थिए । 

उक्त हमलामा दुई जना महिला र एक पुरुषलाई गोली लागेको छ । गोली लागेकामा एकजना ३६ वर्षीय पुरुष र ३२ वर्षकी महिलाको अवस्था गम्भीर रहेको बताइएको छ । 

एकजना महिलाले गोली हानेको प्रहरीले बताएको छ । ती महिलाले अरुलाई हमला गरेपछि आफैँलाई पनि गोली हानेकी थिइन् । 

पछि ती गोली हान्ने संन्दिग्ध महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ । 

अमेरिकी प्रहरीले उक्त घटनाबारे छानबिन गरिरहेको जानकारी दिएको छ । यस आक्रमण किन गरिएको थियो र ती महिलाको विगतको पृष्ठभूमि के थियो भन्ने बारेमा अहिले नै केही थाहा नभएको र अनुसन्धान सुरु गरिएको जनाइएको छ । 

यसैबीच प्राप्त पछिल्लो समाचार अनुसार त्यहाँ गोली चलाउने हमलाकारीको पनि मृत्यु भएको बताइएको छ । प्रहरीले गोली हान्ने महिलाको मृत्यु भएको पुष्टि गरेको हो । 

उनले अरुलाई गोली हानेपछि आफैलाई पनि हानेर आत्महत्या गरेकी थिइन् । गोली हान्ने महिलाको पनि सोही कार्यालयको परिसरमा मृत्यु भएको प्रहरीले बताएको छ । उनी कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिएकी थिइन– प्रहरीले जनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त घटनाबारे आफूलाई थाहा भएको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि पनि हालै अमेरिकाको एक विद्यालयमा भएको गोलीकाण्डपछि सुरक्षामा निकै जोड दिनुभएको थियो । 

उहाँले अमेरिकामा अब विद्यालयमा यस्ता गोलीकाण्ड हुन नदिने भन्दै आफ्नो प्रशासनको पहिलो प्राथमिकता अमेरिकी विद्यालय र विद्यार्थीको सुरक्षा हुने बताउनुभएको थियो । 

उहाँले फ्लोरिडामा भएको हत्याकाण्डपछि सम्बोधनका क्रममा सो प्रतिबद्धता व्यक्तगर्दै विद्यालयमा देखिएको यो असुरक्षाको अवस्था हटाई शान्त र सुरक्षित वातावरणमा शिक्षा आर्जन गर्नपाउने वातावरण बनाउने बताउनुभएको थियो । 

अमेरिकामा पछिल्लो समयमा यस्ता गोलीकाण्डका घटनामा बृद्धि भइरहेको छ । कतिपयले यसलाई व्यक्तिले बन्दुक राख्न पाउँदाका परिणामहरु हुन् भनेका छन् भने कतिले यस तर्कको अस्वीकार गर्ने पनि गर्दछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!