अमेरिका छिर्ने आप्रवासीलाई रोक्न मेक्सिकोसँगको सीमा क्षेत्रमा सेना, पर्खाल लगाउने ट्रम्पको योजना

Posted on: 05 Apr, 2018

चैत २२ वासिङ्टन | अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा अमेरिकी सैनिक पठाउने घोषणामा बुधबार हस्ताक्षर गर्नुभएको छ । 


चर्को आलोचनाकाबीच सिमाक्षेत्रमा राष्ट्रिय सुरक्षा घेरा राख्ने आदेशमा राष्ट्रपतिले हस्ताक्षर गर्नुभएको अमेरिकाका रक्षा तथा गृह प्रशासनसम्बन्धी मन्त्रीहरुले जानकारी दिनुभयो । 

“देशको भूमी रक्षाका लागि राष्ट्रपति ट्रम्पले रक्षा र गृह प्रशासनसम्बन्धी मन्त्रालयलाई निर्देशन दिनुभएको छ,” उहाँहरुले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो । 

दुवै मन्त्रालय मिलेर दक्षिणपश्चिमी सिमानामा सँगसगै सुरक्षा घेरा तैनाथ गर्न राष्ट्रपतिले आदेश दिनुभएको सो अवसरमा जानकारी दिइएको छ । 

सिमा क्षेत्रको सुरक्षा अहिले संकटपूर्ण अवस्थामा पुगेको ट्रम्पको भनाई छ । अमेरिकी जनताको सुरक्षा र सार्वभौमिकताको रक्षाका लागि पनि सिमाक्षेत्रमा सुरक्षा घेरा अत्यावश्यक भएको ट्रम्पले बताउनु भएको छ । 

“मेरो प्रशासनलाई यस बारेमा छनौट गर्ने अर्काे कुनै पनि विकल्प छैन,” उहाँले भन्नुभयो । 

ह्वाईट हासउद्धारा जारी वक्तव्यमा लागुपदार्थ र अपराधीहरुको अमेरिका तर्फको प्रवाहलाई रोक्न सुरक्षाकर्मी खटाउन लागिएको उल्लेख छ । 

कार्ययोजना र निष्कर्ष सहितको प्रतिवेदन ३० दिन भित्र पेशगर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइएको छ । 

राष्ट्रपति ट्रम्पले बुधबार ट्वीट गर्दै भन्नुभएको छ, “मेरो प्रशासनले आज नै आप्रवासनका बारेमा कडा कदम चाल्नेछ ।” 

सिमाना र करसम्वन्धी कार्यालयलाई अहिले पठाइएका सुरक्षाकर्मीहरुले सहयोग गर्ने तर हस्तक्षेप भने नगर्ने यहाँको गृह प्रशासनले बताएको छ । 

अमेरिकाको संघीय कानुनमा अवैधानिक कामलाई नियन्त्रण गर्नका लागि सुरक्षाकर्मीहरुले जुनसुकै ठाउँमा पनि कानुनको पालना गराउन सक्ने उल्लेख छ । 

अहिले पठाइने सुरक्षाफौजले प्रशिक्षण, निर्माण र गुप्तचरको कामका लागि विभिन्न तरिकाबाट भूमिका खेल्नसक्ने बताइएको छ । 

अमेरिकी गृहमन्त्री निल्सेनले के कति मात्रामा सुरक्षाकर्मीहरु सिमाक्षेत्रमा पठाउन लागिएको हो, कति समय उनीहरु त्यहाँ बस्छन र के कति खर्च लाग्छ भन्ने बारेमा भने केही जानकारी दिनुभएको छैन । 

आप्रवासन नीति र सिमा सुरक्षाका बारेमा केही दिनदेखि सार्वजनिक दवाव र आलोचनाहरु भएपछि राष्ट्रपति ट्रम्पले सिमाक्षेत्रमा सुरक्षाकर्मी पठाउने घोषणामा हस्ताक्षर गर्नुभएको हो । 

उहाँले अहिले पनि अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल लगाउनुपर्ने कुरालाई महत्वका साथ बेला बेलामा उठाउने गरेपनि पर्खाल लगाउन भने सक्नु भएको छैन । 

राष्ट्रपति ट्रम्पले आफु राष्ट्रपति निर्वाचित हुने निर्वाचनको बेला मेक्सिकोसँगको सिमा क्षेत्रमा पर्खाल लगाउने एजेण्डालाई प्रमुख चुनावी एजेण्डाको रुपमा प्रचार गर्नुभएको थियो । 

“पर्याप्त सुरक्षा व्यवस्था र पर्खाल नबनाउदा सम्म उनीहरुलाई त्यहीँ खटाइने छ,” राष्ट्रपति ट्रम्पले भन्नुभयो, “यो निकै ठूलो कदम हो ।” रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!