सिरियामाथि अमेरिका, बेलायत र फ्रान्सद्वारा संयुक्त आक्रमणः अहिलेसम्म के-के भयो ?

Posted on: 14 Apr, 2018

वैशाख १, काठमाडौं । अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि संयुक्त सैन्य कारबाही गरेका छन् । बशर अल असद सरकारको रासायनिक हतियारको अड्डामा आक्रमण गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

ट्रम्पले आक्रमणको घोषणा गरेको केहीबेरमा नै दमास्कस र होम्स शहरमा विस्फोटको ठूलो आवाज आएको छ । आकासमा धुवाँको ठूलो मुस्लो देखिएको थियो ।

सिरियाको आधिकारिक न्यूज एजेन्सी सनाका अनुसार मिसाइल आक्रमणमा तीन सार्वसाधारण घाइते भएका छन् भने शोध संस्थानको शाखामा क्षति पुगेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामाथि भएको आक्रमणलाई गम्भीर रुपमा लिएको बताएका छन् । साथै राष्ट्रसंघको आपतकालीन बैठक बोलाउन माग गरे ।

रुसको सरकारी टीभीमा प्रसारित एक वक्तव्यमा पुटिनले सिरियामाथिको आक्रमणलाई हस्तक्षेपकारी कदम भएको बताएका छन् । डुमामा गत साता भएको शंकास्पद रासायनिक हमला नियोजित रुपमा कसैले गराएको र त्यसलाई आक्रमणको बहाना मात्र बनाइएको उनले बताएको बीबीसीले जनाएको छ ।

सिरियास्थित रुसी नौसैनिक र हवाई अखडा नजिकका क्षेत्रहरुलाई निशाना नबनाएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । उसका अनुसार दमास्कस नजिक सैन्य अखडामा प्रहार भएको १२ वटा क्रुज क्षेप्यास्त्रलाई सिरियाली तोपले खसालेको छ ।

रुसी विदेश मन्त्रालयका प्रवक्ताले सिरियामाथि भएको आक्रमणले शान्ति वार्ताको प्रयासमा धक्का पुगेको बताएका छन् । रुसी समाचार एजेन्सी आरआईएसँगको कुराकानीमा मारिया जखारोवाले भने, यसले विद्रोही र चरमपन्थीलाई यो सन्देश दिएको छ कि उनीहरुरुले जे गरिरहेका छन्, त्यो सही छ ।’

बेलायती प्रधानमन्त्री टेरिजा मेले सिरियामाथि भएको आक्रमणलाई उचित र बैधानिक भनेकी छन् ।

जर्मन पत्रकारले सोधेका थिए कि बेलायतले डुमामा भएको भनिएको रासायनिक आक्रमणको अन्तर्राष्ट्रिय छानविन किन पर्खिएन ? जवाफमा मेले भनेकी छन्, बेलायतले आफ्नो स्तरबाट डूमामा के भएको थियो पत्ता लगाएको छ र, ओपीसीडब्ल्यूको छानविन प्रक्रिया लामो छ ।

साथै सिरियामा भएको संदिग्ध रासायनिक हतियारको प्रयोग पूर्वी रुसी जाजुसमाथि भएको आक्रमणसँग जोडिएको बताइन् । प्रधानमन्त्री मेले विश्वमा रासायनिक हतियार प्रयोग रोक्न कानुन बनाउन समेत माग गरेकी छन् ।

बेलायतका रक्षामन्त्रीले भनेका छन् कि बेलायती वायुसेनाले बसर अल असद सरकारलाई प्रष्ट सन्देश दिएको छ ।

जर्मन चान्सलर एंगेला मर्केलले सिरियामाथि गरिएको आक्रमणको समर्थन गरेकी छन् । उनले यसलाई एक जरुरी कदम भनेको बीबीसीले जनाएको छ ।

इरानी सर्वोच्च नेता अयातुल्लाह अलि खानेमीले सिरियामा पश्चिमा आक्रमणलाई अपराध भनेका छन् । यसबाट अमेरिकाका साझेदारले केही उपलब्धि हालिस गर्न नसक्ने भन्दै उनले भने, ‘अमेरिकी राष्ट्रपति, बेलायती प्रधानमन्त्री र फ्रान्सका राष्ट्रपति अपराधी हुन् ।’ इजरायल र टर्कीले सिरिया आक्रमणको समर्थन गरेका छन् ।

सिरियालाई घातक गतिविधिमा संलग्न हुन इरानसहितका देशले आधार दिएको भन्दै इजरायलले भनेको छ, यसले सिरियाको सीमा, फौज र नेतृत्वलाई जोखिममा पारेको छ ।

टर्कीले हवाई आक्रमणलाई उपयुक्त प्रक्रिया र मानवीय चेतनालाई सहज तुल्याएको बताएको छ ।

राष्ट्रपति बसर अल असदले पश्चिमाको सैन्य कारबाहीको जवाफ दिँदै सिरिया र त्यहाँका मानिसहरु देशमा चरमपन्थीहरुलाई समाप्त पार्न एकजुट भएको बताएका छन् । उनले इरानका राष्ट्रपति हसन रुहानीसँग फोनमा कुराकानी गरेका छन् ।

राष्ट्रपतिको कार्यालयले असद आफ्नो कार्यालय गएको भिडियो ट्वीट गर्दै पश्चिमा देशहरुको आक्रमणले सिरियालाई कुनै असर नगरेको सन्देश दिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघका पाँच स्थायी सदस्य मध्ये ३ मुलुकले आक्रमण गरेका विवरणलाई नियालिरहेको बताएका छन् ।

राष्ट्रसंघीय वडापत्र र सामान्य अन्तर्राष्ट्रिय कानुन अनुसार कदम चाल्न उनीहरु जिम्मेवार रहेको बताएका छन् । संयम अपनाउन आग्रह गर्दै उनले भनेका छन्, ‘सिरियाली जनतालाई झन पीडा थप्न सक्ने अवस्था आउन नदिन आग्रह गर्छु ।’

चीनले सिरियामाथि पश्चिमा देशको आक्रमण अन्तराष्ट्रिय कानुनको उल्लंघन भएको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता हुआ च्युनिङले चीन अन्तराष्ट्रिय सम्वन्धमा बलको प्रयोग, राष्ट्रसंघ सुरक्षा परिषद्को सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनको उल्लंघनको विरोधमा रहने बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!