फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल

Posted on: 30 Apr, 2018

वैशाख १७, जाकार्ता  | फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ । 

इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् । 

इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्वन्धी एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ । 

विवादास्पद कानूनको शिकार ३९ बर्षका अल्नोल्डी बहारी हुनुभएको छ । उहाँले आफूले इश्वरीय शक्तिको अनुभव गरेको दावी गर्दै अन्य मुस्लिम समुदायको इश्वरप्रतिको विश्वासमाथि प्रश्न उठाउनु भएको थियो । 

“उहाँलाई पाँच बर्ष जेल सजायको फैसला भएको छ, साथै सात हजार २०० अमेरिकी डलर जरिवाना पनि गरिएको छ,” बहारीका वकील अन्डी कोमाराले भन्नुभयो । 

उहाँले थप्नुभयो, “हामीले यस फैसलाको पुनरावलोकन गराउने छौं, किनकी त्यहाँ धेरै विषयलाई बङ्ग्याइएको छ ।” 

कारबाहीमा पर्नु भएका बहारी पश्चिम जाभा प्रान्तको पान्डेग्लाङका इन्डोनेसियाली नागरिक हुनुहुन्छ ।  

रासस/एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!