अमेरिकी नेतृत्वको सेनाद्वारा सिरियामा हवाई आक्रमण, २५ जनाको मृत्यु

Posted on: 02 May, 2018

वैशाख १९ दमासकस | अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ। 

लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षित गरी मध्यान्ह हवाई आक्रमण गरेको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ। 

हासाकाहमै शनिबार राति पनि सैनिक कारबाहीबाटै केही बालबालिकाको मृत्यु भएको थियो।

अमेरिकी गठबन्धन सेनाले आवास क्षेत्रमा लक्षित गरेर हवाई आक्रमण गर्ने गरेको र त्यसको विरुद्धमा बिगतमा लामो समयदेखि विरोध गरिएको भए पनि हवाई कारबाही नरोकिएको सानाले उल्लेख गरेको छ।

सिरियाली अरब रेड क्रिसेन्टकी हासाकाहस्थित प्रतिनिधिलाई उदृत गर्दै सानाले हासाकाहको राष्ट्रिय अस्पतालनजिकै पनि यस्तो आक्रमण भएको थियो। 

सिरियाको विदेश मन्त्रालयले अमेरिकी नेतृत्वको गठबन्धनलाई यहाँबाट हटाउन संयुक्त राष्ट्रसंघमार्फत आग्रह गर्दै आएको छ। 

सिरियामा सन् २०१४ देखि अमेरिकी नेतृत्वको गठबन्धनले कारबाही सुरु गरेको थियो। अमेरिकी सेनाको नेतृत्वमा अरु केही देशका सेनाले यहाँ कारबाही गर्ने गरेका छन्। 

अमेरिकी नेतृत्वमा पछिल्लो समयमा पनि केही युरोपेली देशहरुसमेतले संयुक्त कारबाही गरेका थिए। सो कारबाहीपछि ‘सिरियाको रासायनिक हतियार कार्यक्रम’ बर्षौंपछि धकेलिएको बताइएको छ। 

अमेरिकाले सिरियामा रासायनिक हतियारको प्रयोग भएको पाइएमा कुनै पनि बेला फेरी हमला गरिने स्पष्ट पारेको छ। 

यसअघि शनिबार सिरियाको सशस्त्र आर्मीले एक वक्तव्य मार्फत अमेरिकाले हानेका मिसाइलहरु धेरैजसो असफल बनाइएको र केहि मात्र सफल भएको उल्लेख गरिएको थियो। 

सिरियामा विगत लामो समयदेखि जारी रहेको हिंसामा परी तीन लाखभन्दा बढी मानिसको ज्यान गएको छ। अरु कैयौँ घाइते भएका छन्। रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!