साउदी अरबद्वारा यमानको राष्ट्रपति कार्यालयलाई लक्षित गरि हवाई आक्रमण, ६ को मृत्यु, ३० घाइते

Posted on: 07 May, 2018

वैशाख २४, साना (रासस/एएफपी) | यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी सोमबार आक्रमण भएको छ । 

यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका दुई हवाई हमलामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० भन्दा बढी घाइते भएका छन् । 

स्वास्थ्य अधिकारीहरुले एएफपीलाई दिएको जानकारी अनुसार विद्रोहीहरूले चलाएको अल मसिराह टेलिभिजनले साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आक्रमण गरेको समाचार प्रसारण गरेको छ । 

स्थानीयबासिन्दाले राष्ट्रपति भवनलाई लक्षित गरी दुई ठुला शक्तिशाली विस्फोटन भएको सुनेको बताएका छन् । केन्द्रीय बैंकबाट नजिकै रहेको एउटा बैंक र पसलको छेउमा विस्फोटन भएको थियो । 

“हामीले राष्ट्रपति कार्यालयको अर्को प्रवेशद्वार तर्फ काम गरिरहेका थियौं, पहिला सादा आवाज सुन्यौं, त्यसपछि विस्फोटनको आवाज आयो,” कार्यालयका एक कर्मचारी अहमद डेहसिरले भन्नुभयो । उहाँले बिस्फोटनपछि भत्किएको ठाँउमा धेरै जना पुरिएको बताउनुभयो । 

यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेनाकाबीचमा सन् २०१५ देखि युद्ध चलिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!