कङ्गोमा इबोलाको प्रकोप देखियो, समयमै नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनको आग्रह

Posted on: 17 May, 2018

जेठ ३ कङ्गो | प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फेरि इबोला भाइरसको संक्रमण देखा परेको स्वास्थ्य अधिकारीले जनाएका छन् । 

दश लाख जनसंख्या भएको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको त्यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिनुभएको छ । 

इबोला संक्रमणका विरामी यहाँ पुनःदेखा परेका हुन् । झण्डै १० लाख व्यक्तिको बसोबास रहेको उक्त सहरमा यो संक्रमण देखा परेकोले यसको प्रकोप बढ्न सक्ने त्रास बढेको सो समाचारमा जनाइएको छ । 

यसअघि यसै महिनाको. सुरुमा ब्यान्डाका सहरभन्दा करिब १५० किलोमिटर टाढा अवस्थित ग्रामीण वस्तीमा इबोला संक्रमणका विरामी देखिएका थिए । यस सक्रमणमा परी करिब २३ जनाले ज्यान गुमाएका थिए । 

परीक्षणको लागि चार हजार इबोलाको खोप बुधबार मात्र कङ्गो पुर्याइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको थियो । 

पश्चिम अफ्रिकामा सन् २०१४ मा इबोलाको महामारीको क्रममा सो खोपको परीक्षण सफल भएको विश्व स्वास्थ्य संगठनले थप जानकारी दिएको छ । 

कङ्गोमा यस प्रकार इबोलाको नयाँ सक्रमणबाट खराब अवस्था आउनसक्ने भन्दै विश्व स्वस्थ्य संगठनले चिन्ता प्रकट गरेको छ । 

यस संक्रमणको नियन्त्रणका लागि विश्व स्वस्थ्य संगठनले सहयोग गर्ने वाचा गरेको छ । त्यस बमोजिमका आठ हजार खोपमध्ये पहिलो किस्ताका चार हजार खोप बिहीबार त्यहाँ पुर्याइएको छ । 

इबोला संक्रमित र उनीहरूसँग सम्पर्कमा रहेका व्यक्तिलाई सकेसम्म चाँडो खोप लगाउने विश्व स्वास्थ्य संगठन र कङ्गोका अधिकारीले जानकारी दिएका छन् । 

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा देखिएको इबोलाको भीषण महामारी कङ्गोमा हाल देखिएकोले परिस्थिति खतरापूर्ण पनि हुनसक्ने अधिकारीहरुको भनाइ रहेको छ । 

पश्चिम अफ्रिकामा इबोला भाइरसको कारण करिब एघार हजार जनाको ज्यान गएको थियो । 

यसको सक्रमण प्रकोप २८ हजार व्यक्तिमा देखिएको बताइएको थियो । रासस÷एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!