दक्षिण भरतमा निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

Posted on: 23 May, 2018

जेठ ९, केरला | दक्षिण भारतमा पछिल्ला केही दिनमा फैलिएको निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको केरलाका स्वास्थ्य मन्त्री के के सैलजाले मङ्गलबार जानकारी दिनुभयो । 

मन्त्री सैलाजाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “ मङ्गलबार अपरान्ह्सम्म हामीले शङ्कास्पद १८ नमूनाहरू परीक्षण गरिसकेका छौँ । जसमध्ये १२ नमूनामा निपा भाइरसको सङ्क्रमण भेटिएको छ । सङ्क्रमित १२ मध्येमा १० जनाको मृत्यु भएको छ भने दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।” 

विगत २४ घण्टामा निपाको सङ्क्रमण भएका कुनै नयाँ विरामी अस्पतालमा आएको जानकारी छैन, उहाँले भन्नुभयो । 

मङगलबार बिहान प्राणघातक निपा भाइरसको सङ्क्रमण भै कोझिकोडे मेडिकल कलेज अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको थियो । 

मन्त्री सैलाजाले सोमबार दिएको जानकारी अनुसार निपा भाइरसबाट सङ्क्रमित विरामी एक्कासी देखा परेको र यो विरामीसँगको प्रत्यक्ष सम्पर्कबाट फैलिएको बताउनुभएको थियो । रोगको प्रकोपको समस्या अहिले नियन्त्रणमा आइसकेको र कुनै पनि निपा सङ्क्रमित रोगीको भारतीय सबै अस्पतालहरूमा उपचार गर्नेगरी व्यवस्था गरिएको उहाँले बताउँनुभयो । 

मुख्यमन्त्री पिनरायी भिजयनले पनि निपाको सङ्क्रमण भेटिएसँगै राज्य सरकारद्वारा निकटमा रहेर समस्याबारे अनुगमन गरिरहेको र यसलाई थप फैलिन नदिन आवश्यक कदम चालिसकेको बताउनुभयो । 

निपाको सङ्क्रमणको बिषयलाई साबधानीसाथ लिँदै संघीय सरकारका स्वास्थ्य मन्त्री जे पी नाडाले छ विशेषज्ञ चिकित्सक रहेको एक समूह बनाई निपाको प्रकोपबारे छानविन गर्न निर्देशन दिनुभएको छ । (रासस/एएनआई) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!