आप्रवासी चढेको डुङ्गा डुब्दा ४८ जनाको मृत्यु

Posted on: 04 Jun, 2018

जेठ २१, ट्यूनिसिया | ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेर भएको दुर्घटनामा परी कम्तीमा पनि ४८ जनाको ज्यान गएको समाचार छ । 

ती आप्रवासीको डुङ्गा आइतबार नै मध्यान्ह्मा डुबेको हो । आइतबारसम्म ३५ जनाको शव भेटिएकोमा त्यो संख्या बढेर सोमबार ४८ पुगेको ट्यूनिसियाली रक्षा मन्त्रालयले जानकारी गराएको छ । 

यसअघि गृह मन्त्रालयले दिएको तथ्यांकमा मृतकको संख्या आइतबार ३५ मात्र थियो । उक्त मन्त्रालयले त्यहाँ रहेका ६७ जनालाई भने समुद्रबाट सकुशल उद्धार गरेको बताएको थियो । 

आइतबार मध्यान्ह १२ बजे डुबेको सो डुङ्गमा रहेकामध्ये तटबाट ३५ जनाको शव आइतबारै राति निकालिएको र ६८ जनालाई सकुशल उद्धार गरिएको रक्षा मन्त्रालयका प्रवक्ताले एएफपीलाई बताउनुभयो । 

गृह मन्त्रालयका अनुसार ट्यूनिसियाली स्फाक्स प्रान्तको सामुद्रिक तटनजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्न थालेपछि सहयोगका लागि चिच्चाइरहेका यात्रुहरूलाई तत्कालै ट्यूनिसियाको नौसेना तथा राष्ट्रिय सुरक्षा गार्डले उद्धार थालेको थियो । 

समयमै यसरी खबर भएकोले ६८ जनालाई जीवितै उद्धार गर्न सफल भएको थियो । यहाँ उद्धारको काम जारी नै रहेको र डुङ्गामा कतिजना यात्रु थिए भन्ने यकिन तथ्यांक नपाइएकोले सम्पूर्ण विवरण आउन अझै केही समय लाग्ने गृह मन्त्रालयले जनाएको छ । रासस÷एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!