माफी आवश्यक छैन तर म आफैँलाई माफी दिन सक्छु : राष्ट्रपति डोनाल्ड ट्रम्प

Posted on: 06 Jun, 2018

जेठ २३, वासिङटन | राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग आफैँलाई माफी दिने पूर्णअधिकार भएको दाबी गर्नुभएको छ । यो कार्यकारी अधिकारीको असाधारण उन्मुक्त दृष्टिकोण हो, जुन अधिक मात्रामा अदालतमा परीक्षण भएको छैन । यसले हाल उहाँमाथि अनुसन्धान गरिरहेका अभियोक्तासँग उहाँको सङ्घर्षलाई अझै लम्ब्याउन सक्ने सङ्केत दिएको छ । 

त्यसै पनि माफीको आवश्यकता छैन, किनभने ‘‘मैले कुनै गल्ती गरेकै छैन’’, ट्रम्पले सोमबार ट्वीट गर्नुभयो । विशेष अधिवक्ता रोबर्ट मुलरलाई दिइएको एक ज्ञापनपत्रमा उहाँका वकिलहरूले न्याय अवरुद्ध पारेको क्षेत्रमा राष्ट्रपतिले कुनै पनि गल्ती गर्नु उहाँका लागि असम्भव हुन्छ भनी दाबी गरेका छन् । मुलर यस विषयमा अनुसन्धान गरिरहनुभएको छ । राष्ट्रमा कानुन कार्यान्वयन गर्ने प्रमुख अधिकारीको रूपमा ट्रम्पले न्याय विभाग तथा कार्यकारी संस्थामा पूर्ण नियन्त्रण गर्नुहुन्छ, त्यसैले उक्त दाबी गरिएको हो । 

यो भन्दा पनि पर उहाँका वकिलहरूले पदमा रहेका राष्ट्रपतिलाई फौजदारी अभियोग लगाउन सकिन्न भन्ने कुरामा कुनै विवाद नरहेको कुरामा पटकपटक अडान लिएका छन् । 

न्याय विभागले ‘‘विशेष अधिवक्ता’’ नियुक्त गर्नु पूर्णतया असम्वैधानिक हुन्छ’’ भनी ट्रम्पले सोमबार अर्को ट्वीट गर्नुभएको छ । 

जे भए पनि मुलरको अनुसन्धान अगाडि बढेको छ, यदि कुनै ऐतिहासिक नजिर स्थापना भयो भने सदा झैँ अदालतले पनि न्युनतम रूपमा केही प्रश्नको सामना गर्नुपर्ने हुनसक्छ । यी प्रश्नमा के एउटा राष्ट्रपतिलाई अधिवक्ताको प्रश्नको उत्तर दिन बाध्य पार्न सकिन्छ ? के एउटा सेना प्रमुखले अनुसन्धानमा आपराधिक रूपमा हस्तक्षेप गर्ने कुरा सम्भव हुन्छ ? के एउटा राष्ट्रपतिको माफी दिने अधिकारको विस्तार भ्रष्टाचारको उद्देश्यमा पनि उपयोग हुनक्छ ? भन्ने प्रश्न समावेश हुन्छन् । 

‘‘यी प्रश्नमा परीक्षण भएको छैन भन्ने कारण छन् । किन भने यी विचार गर्न नसकिने कुरा थिए’’, राष्ट्रपति बराक ओबामाको कार्यकालमा ह्वाइट हाउसको वकिलको कार्यालयमा सेवा गरिसकेका र हाल सभाना ल स्कुलका प्राध्यापक एन्ड्रयु राइट भन्नुहुन्छ । ‘‘यहाँ राष्ट्रपतिको खेलको भाग कहिल्यै परीक्षण नभएको अस्पष्ट विषय लिनु र ‘हेर यस बिन्दुमा कुनै पनि आधिकारिकता छैन’ भन्नु हो । 

सन् २०१६ को निर्वाचनका समयमा के ट्रम्पका सहयोगीले रसियासँग समन्वय गरे ? र एफबीआईका निर्देशक जेम्स कोमीलाई बर्खास्त गर्नुसहितका कार्यबाट के ट्रम्पले अनुसन्धान बन्द गर्न पाइला चाले ? भन्ने कुरामा मुलरले अनुसन्धान गरिरहनुभएको छ । 

आफूले कुनै गल्ती नगरेको कुरामा ट्रम्पले अडान लिनुभएको छ । जनवरीमा मुलरलाई दिइएको र हालै प्रकाशन भएको ज्ञापनपत्र साथै राष्ट्रपति ट्रम्पका वकिलका विज्ञप्ति उहाँले गर्नुभएको कारवाही गर्न उहाँलाई संवैधानिकरूपमा अधिकार प्राप्त छ भन्ने स्थापना गर्ने कुराको प्रतिरक्षा गर्ने कामको वरपर घुमिरहेको स्पष्ट छ । 

प्रतिरक्षाका वकिलको तर्कले राष्ट्रपतिलाई बाँध्ने कानुनको भन्दा पनि अमेरिकी जनताले अपेक्षा गरेको मान्यता अनुसारको अधिकारको दुरूपयोग विरुद्धको संरक्षण नै संहिता हो भन्ने बुझाउँछ । 

उदाहरणका रूपमा ट्रम्पको दृष्टिकोणमा एफबीआईका निर्देशक कोमी वा अन्य कुनै पनि व्यक्तिलाई कुनै पनि कारणमा बर्खास्त गर्ने उहाँको अधिकार छ । यसै गरी संविधानले दिएको अधिकार उपभोग गरी राष्ट्रपतिले एफबीआईले गरेको अनुसन्धान पनि अन्त्य गर्न सक्नुहुन्छ भन्ने उहाँका वकिल भन्छन् । राष्ट्रपतिले आफूलाई ह्वाइट हाउसका पूर्वराष्ट्रिय सल्लाहकार माइकल फिल्नमाथि एफबीआईले गरेको अनुसन्धान बन्द गर्ने विषयमा विचार गर्न भनेको भनी कोमीले लगाएको आरोप पन्छाउन यो तर्कले काम गर्नसक्छ । 

यी प्रश्न पूर्णतया समाधान नभए पनि कोमीलाई बर्खास्त गरी राष्ट्रपति ट्रम्पले न्यायलाई अवरुद्ध पार्न सक्नुहुन्थेन भन्ने तर्कमा तार्किकता भएको साउथ टेक्सास कलेज अफ लका प्राध्यपक जोस ब्ल्याकम्यानले बताउनुभयो ।(रासस÷एपी)

यस बिषयमा तपाइको प्रतिक्रिया...!